काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुको माग सरकारले सम्बोधन गर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित हिमालयन संवादमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा भइरहेको आन्दोलन, आगजनी तथा तोडफोटका घटनाले देश अझै संक्रमणकालमै रहेको देखाउने बताए । उनले विभिन्न विचारका समूहमा विरोधाभास देखिएको भन्दै संविधानप्रति इमान्दारिताको कमी देखिएको बताए । उनले पछिल्लो समय आन्दोलनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरे । शिक्षकहरुको जायज माग सम्बोधन गर्न सरकार तयार रहेकाले आन्दोलनको आवश्यकता नभएको उनको भनाइ छ ।
उनले भने, ‘अहिले शिक्षक आन्दोलन चलेको छ । किन चलाउनुभएको मलाइ थाहा भएन । म प्रधानमन्त्री छु । म भनिराख्या छु, जायज माग लिएर कोही आउँदाखेरि आन्दोलन गर्नुपर्दैन हामी त्यसको समाधान दिन्छौँ । हामी त्यसलाई सम्बोधन गर्न तयार छौँ । दुःख पाउनु पर्दैन सडकमा गएर सुत्नै पर्दैन । आउनुस् कुराकानी गरेर त्यसलाई समाधान गरौँ । उहाँहरुले किन दुःख पाउनुभएको हो ? उहाँहरु कुराकानीका लागि आउनुहोला । हामी यथोचित ढंगले माग सम्बोधन गर्छौँ । हामी संक्रमण कालमा छौँ र केही केही तत्वहरु छन् आगजनी, हिंसा हत्या, तोडफोडका प्रवृत्ति पनि छदैछन् । केही केहीले कानून संविधान मान्दैनौ भनेका पनि हामीले सुनेकै छौँ ।’
प्रधानमन्त्री ओलीले लोकतन्त्रमा आन्दोलन गरेर सरकार समक्ष आफ्ना माग राख्ने अधिकार भएपनि अनावश्यक आन्दोलन उचित नभएको जिकिर गरे ।
प्रकाशित मिति २०८१ चैत २४ गते सोमबार ०४:२२




