२०८३ साउन २१ गते बिहीबार

कुल १२ टिमको सभागितासँगै घलेगाउँमा गोल्डकप फुटबल प्रतियोगिता सुरु

कुल १२ टिमको सभागितासँगै घलेगाउँमा गोल्डकप फुटबल प्रतियोगिता सुरु

बिराट न्यौपाने

@Public 4K Tv

२०८२ वैशाख १ गते सोमबार ०६:३५

प्रतियोगिता सम्पन्न गर्न कुल ३४ लाख ३१ हजार १ सय १० रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।

लमजुङ ।
नयाँ वर्ष २०८२ को स्वागतसँगै स्मार्ट भिलेज घलेगाउँमा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
सोमबारबाट सुरु भएको आठौं संस्करणको आमन्त्रित गोल्डकपको उद्घाटन सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका हुन् ।
प्रतियोगितमा कुल १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । तीमध्ये ११ टिम नेपालका विभिन्न जिल्लाबाट छन् भने १ टिम भारतको दार्जिलिङबाट आएको छ । प्रतियोगितामा लमजुङका तर्फबाट त्रिवेणी युवा क्लब बेंसीसहर, बेंसीसहर युथ सोसाइटी, नाल्मा ११ र बीवाईसी भोटेओडार गरि चार टिमको सहभागिता छ । बाँकी टिमहरूमा काठमाडौंको भुईंखेल फुटबल क्लब, अभिषेक चर्च, तनहुँको फ्रेन्डसिप युथ क्लब, पोखराको गुन्नी फुटबल क्लब, चितवनको रड्स रामपुर, मनाङ जिल्ला टिम र गोरखाको सीवाईसी नेपाल युनाइटेड तुरतुरे छन्। भारतको दार्जिलिङबाट एमएससी क्लब बालिया सहभागी छ ।
घलेगाउँस्थित पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेजका अध्यक्ष प्रेम घलेका अनुसार प्रतियोगिताको तयारी विगत महिनादेखि नै सुरु गरिएको थियो । “स्थानीय स्तरमा उत्साह छ, दर्शकको भीडले रंगशाला भरिएको छ, खेलाडीको जोश त झनै छुट्टै छ,” उनले भने ।
प्रतियोगिताको विजेताले गोल्डकपसहित नगद ६ लाख पाँचसय ५५ रुपैयाँ जित्नेछ । उपविजेताले तीन लाख ५० हजार तीनसय ५५ रुपैयाँ पाउनेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी र गोल संख्यामा अगाडि रहनेलाई जनही १०–१० हजार रुपैयाँ पुरस्कार दिइनेछ । हरेक खेलमा उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ दी म्याच’ ट्रफीले सम्मान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न कुल ३४ लाख ३१ हजार १ सय १० रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । खेलको व्यवस्थापनदेखि प्रचार–प्रसारसम्म सम्पूर्ण कार्यमा स्थानीय समुदाय, युवा क्लब र पर्यटन व्यवसायीहरू सक्रिय छन् ।
हिउँले छोपिएका हिमालको फेदमा, हरियाली डाँडाकाँडाबीच रंगशालामा गुन्जिने सिठी र हुटिङसँगै घलेगाउँ यो नयाँ वर्षमा फेरि एकपटक खेलकुदको केन्द्र बनेको छ। मैदानमा खेलाडीहरूको दौड, दर्शकको हुटबाजी र उद्घोषकको जोशले नयाँ वर्षलाई साँच्चै नै स्मरणीय बनाइरहेको छ।
प्रकाशित मिति २०८२ वैशाख १ गते सोमबार ०६:३५
हजुरको प्रतिक्रिया