पोखरा ।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनल आज हुँदैछ ।
एनएसएलको उपाधिका लागि आज साविक विजेता ललितपुर सिटी एफसी र पहिलोपल्ट फाइनलमा पुगेको पोखरा थन्डर्स एफसीबिच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी ६ बजे शुरू हुनेछ ।
पोखरा थन्डर्स र ललितपुर सिटी एफसी दुवै टोलीले आज हुने उपाधि भिडन्तमा सफलता निकाल्ने लक्ष्य राखेका छन् । दशरथ रंगशालामा हुने फाइनलको अघिल्लो दिन शुक्रबार प्रि म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गरे ।
ललितपुर दोस्रो र पोखरा पहिलो पटक फाइनल खेल्ने तयारीमा छ । एनएसएल २०२५ मा साविक विजेता ललितपुर सिटीले लिग चरणका ६ खेलमा अपराजित रह्यो ।
ललितपुरले तीन खेलमा बराबरी र तीन खेलमा जित निकाल्दै शीर्षमा स्थानमा रहेर पहिलो क्वालिफायरमा पुग्यो । पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ ले हराउँदै ललितपुर फाइनलमा पुग्यो ।
त्यस्तै पहिलो पटक एनएसएलको फाइनलमा पुगेको पोखराको फाइनल यात्रा सहज भने थिएन ।
पोखराले लिग चरणका सुरूवाती दुई खेलमा हार ब्यहोरेको थियो । त्यसपछिका चार खेलमा दुईमा जित र दुईमा बराबरी खेलेपछि पोखराले ८ अंक जोडेर चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनायो ।
एलिमिनेटरमा चितवन एफसीलाई ३–० र दोस्रो क्वालिफायरमा धनगढीलाई १–० गोलले हराएपछि पोखराले फाइनलको यात्रा गरेको हो । पहिलो दुई खेलमा पराजय भोगे पनि पोखरा पछिल्ला ६ खेलमा अपराजित छ ।
यस्तोमा पोखराले पहिलो पटक फाइनल पुगेर उपाधि जित्ने लक्ष्य लिएको छ । पोखराका प्रशिक्षक सुमन श्रेष्ठले फाइनलका लागि तयार भएको र राम्रो रणनीति बनाएर उपाधि जित्ने विश्वास व्यक्त गरे ।
सुरुवाती दुई खेलमा पराजित भएपछि पछिल्ला खेलको लयलाई कामय राखेर उपाधि जित्ने श्रेष्ठले बताए ।
पोखराका कप्तान नवयुग श्रेष्ठले ललितपुरविरूद्ध प्रतिस्पर्धात्मक खेल हुने र व्यक्तिगत रुपमा अर्थपूर्ण खेल हुने बताए ।
यता ललितपुरका प्रशिक्षक साइमन ग्रेसनले पहिलो क्वालिफायर जितेपछि एक साताको तयारी गर्न पाएको र रेस्ट पनि राम्रो भएकाले उपाधि जित्ने विश्वास व्यक्त गरे ।
ललितपुरका कप्तान अनन्त तामाङले पनि क्वालिफायरपछि एक साताको समय पाएकाले फाइनलका लागि राम्रो तयारी गर्न पाएको बताए ।
तेस्रो संस्करणको विजेताले ८० लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल स्पोट्र्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पाउने पुरस्कार राशी घोषणा गरेको हो ।
दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ । विजेता र उपविजेता दुवै टोलीले पाउने रकममा गत वर्षको तुलनामा १० लाख रुपैयाँ बृद्धि गरिएको हो ।
प्रकाशित मिति २०८२ वैशाख १३ गते शनिबार ०९:०५




