२०८३ साउन २१ गते बिहीबार

भाटखोलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु

भाटखोलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १४ गते आइतबार ०९:३३

प्रतियोगितामा ७ क्लब तथा समुहहरुको सहभागिता रहेको छ । आयोजक शिवशक्ति क्लबका ३ टिम, नेविसंघ फेदीखोलाका २ टिम, आरुखर्क, मट्टीखान, पातिहाल्ना र खड्केटारीका १÷१ टिम गरी ९ टिमको सहभागिता छ ।

पोखरा ।

फेदीखोला गाउँपालिका वडा नं. ३ भाटखोला, पुलकोमुखमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।

२०८१ सालमा स्थापना गरिएको शिवशक्ति क्लबको आयोजनामा नयाँवर्ष २०८२ को अवसरमा आयोजित खेलको शनिबार फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले उद्घाटन गरे ।

कार्यक्रमका प्रमुख अतिथि सुवेदीले गाउँगाउँमा खेलकुदको विकास गर्ने पालिकाको सोच रहेको भन्दै युवाहरुलाई खेलको माध्यमबाट गाउँपालिकाको नाम राख्न आग्रह गरे ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङले जसरी खेलकुदमा अनुशासनको महत्व हुन्छ त्यसैगरि व्यवहारिक जिवनमा पनि अनुशासनको उत्तिकै महत्व हुने बताईन् ।

सो अवसरमा वडा नं. ३ का अध्यक्ष कृष्ण बहादुर रानाभाट, वडा नंं. ४ का अध्यक्ष ख्यामनारायण पौडेल, वडा नं. १ का अध्यक्ष अमृत क्षेत्रीले शुभकामना व्यक्त गरेका थिए ।

प्रतियोगितामा ७ क्लब तथा समुहहरुको सहभागिता रहेको छ । आयोजक शिवशक्ति क्लबका ३ टिम, नेविसंघ फेदीखोलाका २ टिम, आरुखर्क, मट्टीखान, पातिहाल्ना र खड्केटारीका १÷१ टिम गरी ९ टिमको सहभागिता छ ।

प्रतियोगिताअन्तर्गत प्रथम पुरस्कार खसी, ट्रफि र मेडल र दोस्रो पुरस्कार २ वटा कुखुराका भाले, ट्रफि र मेडल रहेको कोषाध्यक्ष कुमार रानाभाटले बताए ।

फेदीखोला–३, भाटखोलाको कुनामा रहेको माझखेतस्थित खेतमै कोर्ट बनाएर आयोजना गरिएको प्रतियोगिता हेर्न सयौंको संख्यामा दर्शकको उपस्थिति रहेको थियो ।

प्रतियोगिताका लागि भलिवल खेलप्रेमीहरुको पनि साथ रहेको थियो । प्रतियोगिताको उद्घाटनका अवसरमा उनीहरु वा उनीहरुका आफन्तलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

त्यसैगरी फेदीखोला प्रहरी चौकी, भाटखोला स्वास्थ्य चौकी, शिवालय आमा समुहलाई कदरपत्र तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कलाकारहरुलाई प्रशंसा पत्र प्रदान गरिएको क्लबका अध्यक्ष ताराबहादुर रानाभाटले जानकारी दिए ।

अध्यक्ष ताराबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा प्रतियोगिताबारे फेदीखोला ३ का वडा सदस्य तथा क्लबका सल्लाहकार कुलबहादुर रानाभाटले प्रकाश पारेका थिए ।

कार्यक्रमको संचालन जनप्रिय माविका शिक्षक पदम बहादुर रानाभाटले गरेका थिए ।

प्रकाशित मिति २०८२ वैशाख १४ गते आइतबार ०९:३३
हजुरको प्रतिक्रिया