२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा मन्त्रीको कार्यविभाजन टुङ्गियो, पूर्णता बजेट पारित भएपछि मात्रै

गण्डकीमा मन्त्रीको कार्यविभाजन टुङ्गियो,  पूर्णता बजेट पारित भएपछि मात्रै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार १२ गते शनिबार ०४:३०

पाेखरा । सरकार गठनकाे करिव आधा महिनापछि गण्डकी सरकारले मन्त्रीको कार्यविभाजन गर्ने भएको छ। जेठ २९ गते गठन भएको मन्त्रिपरिषद्का ४ जना मन्त्रीले अहिलेसम्म जिम्मेवारी पाएका थिएनन्। प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काका...

पाेखरा । सरकार गठनकाे करिव आधा महिनापछि गण्डकी सरकारले मन्त्रीको कार्यविभाजन गर्ने भएको छ।

जेठ २९ गते गठन भएको मन्त्रिपरिषद्का ४ जना मन्त्रीले अहिलेसम्म जिम्मेवारी पाएका थिएनन्। प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काका अनुसार आइतबारसम्म मन्त्रीको कार्यविभाजन सक्ने सहमति भएको छ ।

दलहरूबीच भएको सहमति अनुसार तत्कालका लागि प्रवक्ता खड्काले सामाजिक विकास मन्त्रालय सम्हाल्ने भएका छन् । यसअघि अर्थ या भौतिक पूर्वाधार मन्त्रालयको दावी पेश गरेका खड्काले अहिलेको कार्यविभाजन मन्त्रिपरिषद्ले पूर्णता पाउँदा परिवर्तन हुनसक्ने बताए। उनी कांग्रेसबाट मन्त्री बनेका हुन्।

यस्तै, माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने भएकी छिन्। जनता समाजवादी पार्टीका मन्त्री हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पाउने भएका छन्। यसअघि उनले अर्थ मन्त्रालय पाउनुपर्ने दावी गरेका थिए। यसअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जसपालाई अर्थ मन्त्रालय दिने सहमति पत्रमा हस्ताक्षर गरेका थिए। अर्थ मन्त्रालयमा कांग्रेस र माओवादीको पनि दाबी परेपछि आचार्यले उक्त मन्त्रालयको दाबी छाडेका थिए।

अर्का बिना विभागीय मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ ले साबिककै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा पनि मनाङेले सोही मन्त्रालय पाएका थिए। अहिले कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउन निर्णायक भूमिका खेलेका मनाङेले पनि यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी पेश गरेका थिए।

मन्त्रीको कार्यविभाजन भए पनि अझै ६ वटा मन्त्रालयमा मन्त्री नियुक्त भएका छैनन्। प्रदेश सरकारमा रहेका ११ वटा मन्त्रालय मध्ये अर्थ, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन, कृषि, पर्यटनलगायतका मन्त्रालय हाललाइ मुख्यमन्त्री पोखरेलले नै राखेका छन्।

मन्त्रिपरिषद्ले बजेट पारित भएपछि पूर्णता पाउने सरकारमा सहभागी दलहरूविच सहमति भएको छ। प्रदेश सभामा मुख्यमन्त्री पोखरेलले असार १ गते बजेट पेश गरेका थिए। बजेट पेश भएपछि प्रदेश सभाको बैठक अनिश्चितकालीन स्थगित छ।

प्रदेश सरकारलाई पूर्णता दिने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच सहमति हुन नसकेको जसपा नेता एवं मन्त्री हरिशरण आचार्यले बताए। ‘हामीसँग मुख्यमन्त्रीले गर्नुभएको लिखित सहमति अनुसार अर्थ मन्त्रालयको दाबी हामीले ५ दिनअघि नै छाडेर मार्ग प्रशस्त गर्‍यौं’, उनले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयका लागि कांग्रेस र माओवादी लुछाचुडी गरिरहेका छन्।’ उनले अर्थ मन्त्रालय छाडेको जानकारी लिखित रुपमा मुख्यमन्त्री पोखरेललाई बुझाएको समेत बताए।

गण्डकीमा सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र १ जना स्वतन्त्र सांसदको गठबन्धन बनेको थियो। उक्त गठबन्धनबाट सरकारमा नजाने तर समर्थन गर्ने नीति जनमोर्चाले लिएको छ। बाँकी ३ दल र स्वतन्त्र सांसद मनाङे सरकारमा छन्।

प्रकाशित मिति २०७८ असार १२ गते शनिबार ०४:३०
हजुरको प्रतिक्रिया