२०८३ साउन २१ गते बिहीबार

वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालको निधन

वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालको निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २३ गते मंगलबार ०५:२३

पाेखरा । वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालको निधन भएको छ। उनी ७१ वर्षका थिए। थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत नेपालकाे मंगलबार दिउँसो निधन भएको अस्पताल स्रोतले जनाएको छ।...

पाेखरा । वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालको निधन भएको छ। उनी ७१ वर्षका थिए।

थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत नेपालकाे मंगलबार दिउँसो निधन भएको अस्पताल स्रोतले जनाएको छ। केही दिनदेखि अस्पताल भर्ना गरिएका उनलाई सोमबार मात्रै आईसीयूमा सारिएको थियो। लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित नेपाललाई पछिल्लाे चरणमा निमोनिया समेत देखिएको थियो।

प्रदीप नेपाल मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए। त्यस्तै, २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा उनले शिक्षा तथा खेलकुद मन्त्रालय सम्हालेका थिए।

पछिल्ला वर्षहरूमा भने उनी सक्रिय राजनीतिबाट टाढिएका थिए। उनी नेपाली साहित्य क्षेत्रमा पनि चर्चित थिए, जहाँ ‘सञ्जय थापा’ नामले परिचित थिए। उनका एक दर्जनभन्दा बढी उपन्यास प्रकाशित छन्।

एमाले नेता मदन भण्डारीको जीवन समेटिएको ‘बर्बरिक’ उपन्याससहित उनका ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’, ‘बाघमारेको लालसलाम’, ‘देशको खोजी’, ‘पाइला छाडेर अस्ताएको घाम’, ‘आमाको मन’, ‘सञ्जय थापाका कथाहरू’, ‘जननी जन्मभूमिश्च’, ‘फेवाको सुस्केरा’, ‘देउमाईको किनारमा’ लगायतका कृति प्रकाशित छन्।

प्रकाशित मिति २०८२ वैशाख २३ गते मंगलबार ०५:२३
हजुरको प्रतिक्रिया