काठमाडौं ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । आज बस्ने दुवै सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा सार्वजनिक गरेको नीति तथा कार्यक्रम आज निर्णयार्थ प्रस्तुत गरिँदैछ ।
नीति तथा कार्यक्रममाथि छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठकमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने तय भएको छ ।
बैठक बिहान ११ः०० बजे बस्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२÷८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने गरी सम्भावित कार्यसूची तय भएको छ ।
नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभामा यही वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल भएको हो ।
सम्भावित कार्यसूचीअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२÷८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसैगरी राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने सम्भावित कार्यसूची तय भएको छ ।
प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेश भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरी आजै पारित गर्ने कार्यसूची तय भएको छ ।
त्यस्तै राष्ट्रियसभामा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची निर्धारण गरिएको छ ।
राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ ।
यसैबीच नीति तथा कार्यक्रममा समर्थन जनाउन सत्तारुढ दलहरुले आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेका छन् ।
प्रकाशित मिति २०८२ वैशाख २८ गते आइतबार १०:०५




