लमजुङ
लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ का ५७ वर्षीय नवराज गुरुङको हत्या गरेको अभियोगमा उनका आफ्नै छोरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङले एक प्रेस विज्ञप्ति जारी गर्दै गुरुङको हत्या आरोपमा उनका छोरा पक्राउ परेको जनाएको हो।
बैशाख ३० गते बिहान करिब ६ बजे नवराज गुरुङको शव आफ्नै घर अगाडि मृत अवस्थामा भेटिएको सूचना प्राप्त भएपछि प्रहरीले घटनास्थलमा तत्काल टोली खटाएको थियो। प्रारम्भिक अनुसन्धानमा गुरुङको टाउको, आँखासहित शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेका थिए। घटनास्थल र शवको अवस्थाले अस्वाभाविक मृत्यु भएको शंका गरेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा मृतकका जेठा छोरा २३ वर्षीय लु बहादुर गुरुङले राति बुवा र आफूबीच घरायसी विषयमा भनाभन हुँदा लाठी प्रहार गरी बुवाको हत्या गरेको बयान दिएका छन्। बयान र प्रमाणको आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेपछि लु बहादुर गुरुङमाथि कर्तव्य ज्यान ज्यानसम्बन्धी कसूर मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपि रेशम बोहोराले जानकारी दिए।
उनी बिरुद्द जिल्ला अदालत लमजुङबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिएका छन्।
प्रकाशित मिति २०८२ जेठ १ गते बुधबार ०७:१३




