पुरातात्विक विभागले अध्ययन गर्दै
गोरखा ।
गोरखा नगरपालिका–१० स्थित छेवेटारको महादेवटारी क्षेत्रमा फेला परेको पुरातात्विक संरचनाको भग्नावशेषको अध्ययन सुरु गरिएको छ ।
पुरातत्व विभागको टोली गत शुक्रबारदेखि स्थलगत अध्ययनमा जुटिरहेको विभागका नवराज अधिकारीले जानकारी दिएका छन् ।
गत वर्ष लट्टेश्वर महादेव मन्दिरको पुनर्निर्माण गर्ने क्रममा महादेवस्थान संरक्षण तथा विकास समितिले उक्त भग्नावशेष फेला पारेको थियो ।
भग्नावशेष भेटिएपछि काम रोक्दै समितिले विभागलाई खबर गरेको थियो । करिब एक वर्षपछि विभागको टोली स्थलगत अध्ययनका लागि गोरखा पुगेको हो ।

अधिकारीका अनुसार प्रारम्भिक अध्ययनबाट फेला परेको भग्नावशेष सम्भावित मन्दिरको रहेको अनुमान गरिएको छ । ‘अहिलेसम्मको अध्ययन अनुसार यो १७औं शताब्दीतिर निर्माण भएको दुईतले मन्दिर हुनसक्छ,’ उनले भने ।
उक्त संरचनाको गारो ७० सेन्टिमिटर चौडा रहेको र निर्माणमा इँटा, ढुंगा र झिंगटी प्रयोग भएको पाइएको छ । उनले राम मन्दिरतर्फ पनि उक्त संरचनाको केही भाग फैलिएको देखिएको बताए ।

‘दक्षिण–पूर्वतर्फको राम मन्दिरमा संरचनाको भाग घुसेको देखिन्छ, त्यसको पनि उत्खनन गरेर मात्र सम्पूर्ण स्वरूप थाहा हुन्छ,’ उनले स्पष्ट पारे ।
भग्नावशेषसँगै भेटिएका ढुंगाको आधारमा मन्दिरको भार ढुंगामार्फत थामेर ट्रान्सफर गरिएको अनुमान गरिएको छ । गारोमा माटोको जोड देखिएको पनि अधिकारीले जानकारी दिए ।

हाललाई विभागले अस्थायी संरक्षणको उपाय अपनाउँदै प्लाष्टिकले ढाकेर माटोले ढाक्ने योजना बनाएको छ । साथै, अध्ययन पूरा नभएसम्म उत्खनन कार्य नगर्न र कुनै नयाँ संरचना निर्माण नगर्न स्थानीयलाई आग्रह गरिएको छ ।
अधिकारीले विस्तृत उत्खननपछि मात्र संरचना संरक्षणको मोडालिटी र भावी योजना तय गरिने जानकारी दिए ।
प्रकाशित मिति २०८२ जेठ ३ गते शुक्रबार १०:४१




