बागलुङ ।
धार्मिक पर्यटकलाई आकर्षित गर्न सत्यवती मन्दिर जोड्ने पदमार्ग निर्माण थालिएको छ ।
बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर स्थित प्रसिद्ध धार्मिक स्थल सत्यवती मन्दिर जोड्नका लागि पदमार्ग निर्माण सुरु गरिएको हो ।
गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख बजेटमा खाल्टादेखि सत्यवति मन्दिरसम्म रेलिङसहितको २०० मिटर पक्की पदर्माग निर्माण थालिएको छ ।
पर्यटन तथा उद्योग कार्यालय बागलुङ पदमार्ग निर्माण भइरहेको छ । अघिल्लो वर्ष पनि रु १० लाख लागतमा करिब दुई सय मिटर पदमार्ग निर्माण गरेको थियो । मन्दिरसम्म पुग्ने पदमार्ग निर्माणका पछिल्लो दुई वर्षमा रु २० लाख लगानी भएको गरेको छ भने गाउँपालिकाले पनि पूर्वधार निर्माण गरेको छ ।रेलिङसहितको पक्की पदमार्गले आगन्तुकलाई सहज बनाई दिएको छ ।
यहाँ ठूलो स्वरले चिच्च्याएर वर माग्ने गरिन्छ । यसरी चिच्च्याएर वर माग्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । गाउँपालिकाले मन्दिरको पुनःनिर्माण, पार्किङ स्थल निर्माण, खानेपानी, शौचालय, विश्राम स्थल, फनपार्क लगायतका पूर्वधार निर्माण गरेको छ । पालिकाले सत्यवती क्षेत्रमा धार्मिक पर्यटक भित्राउनका लागि पूर्वधार निर्माणमा हालसम्म रु एक करोड बढी लगानी गरेको छ ।
मन्दिरसम्म आउने सडकसमेत पालिकाले बाह्रै महिना सञ्चालन हुने गरी व्यवस्थित बनाएको छ । १० वर्ष पहिलेसम्म जीर्ण र अव्यवस्थित मन्दिरलाई बरेङ गाउँपालिकाले व्यवस्थित बनाएको छ । धार्मिक महत्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै आएको पाइन्छ ।
प्रकाशित मिति २०८२ जेठ १९ गते आइतबार ०८:१०




