काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका आयोजनाहरुमा भइरहेको ढिलासुस्ति भ्रष्टाचारभन्दा ठूलो अपराध भएको टिप्पणी गरेका छन् ।
आईतबार मधेस प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र एक सडक’को शिलान्याश गर्दै प्रधानमन्त्री ओलीले यस्टो टिप्पणी गरेका हुन् ।
भ्रष्टाचारमा आयोजनाको लागतको १० प्रतिशत हुने भएपनि विकास निर्माणमा ढिलाई हुँदा आयोजनाको शतप्रतिशत मुल्य बढ्ने गरेको उनको भनाइ छ ।
उनले यो समय प्रविधि र एआईको समय भएको उल्लेख गर्दै बामे सरेको चालले नभई रकेटको चालमा विकास गर्नुपर्नेमा जोड दिए ।
विकास निर्माणका कामलाई रकेट चालमा सम्पन्न गर्न सरकार लागिपरेको समेत उनको दाबी छ ।
उनले भने, ‘भ्रष्टाचारभन्दा ठुलो अपराध ढिलासुस्ति हो । भ्रष्टाचार गर्नेले १० प्रतिशत गर्ला । तर ढिलासुस्ति गर्दा त्यो आयोजनाको मूल्य नै शतप्रतिशत बढ्छ । एकातिर आयोजनाको मूल्य शत प्रतिशत बढ्छ अर्कोतिर हजारौँ प्रतिशत उपलब्धि गुमिरहेको हुन्छ । त्यसकारण भ्रष्टाचार नियन्त्रणमा मात्रै ध्यान दिने होइन । ढिलासुस्ति नियन्त्रणमा पनि सरकारको कडाईका साथ ध्यान जानेछ । यो जमाना प्रविधि र एआईको जमना हो । यस युगमा हामी चाँही बामे सरेको चालले होइन रकेट चालले अब विकास गर्नुपर्छ । बामे सरेर हुदैन । त्यस कुरामा सरकारको ध्यान गएको छ ।’
प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा निर्माणाधिन क्रिकेट रंगशालाहरु सम्पन्न गर्नका लागि समेत सरकारले योजना बनाइरहेको जानकारी दिए ।
प्रकाशित मिति २०८२ जेठ २० गते सोमबार ०८:५८




