नेपालले पहिलो खेलमा आज स्कटल्याण्डसँग खेल्दै
पोखरा ।
विश्वकप लिग टु अन्तर्गत नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदैछ ।
जसअन्तर्गत नेपालले पहिलो खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ ।
एक साता अघि स्कटल्याण्ड पुगेको नेपाली राष्ट्रिय टोली र स्कटल्याण्डको खेल नेपाली समय अनुसार आज अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।
नेपाली राष्ट्रिय टोली ७ महिनाको लामो विश्रामपछि फेरि एकदिवसीय मैदानमा फर्किंन लागेको हो ।
गत कार्तिकमा अमेरिका पुगेको नेपालले डालसको ग्राण्ड पे्ररी मैदानमा चार खेलको सिरिज खेलेको थियो । त्यहाँ अमेरिका र स्कटल्याण्डसँग खेल्दा एउटा खेल जितेको थियो भने एउटामा अंक बाँडेको थियो ।
नेपाली टोली दुई खेल हारेर स्वदेश फर्किएको थियो । त्यसयता एकदिवसीयमा नेपालले कुनै खेल खेलेको छैन । लिग टु को अंक तालिकामा नेपालको अवस्था राम्रो छैन ।
नेपाल १२ खेलमा २ जितका साथ ६ अंकसहित तालिकाको पुछारमा छ । स्कटल्याण्डले भने १६ खेलमा २० अंक जोड्दै चौथो स्थानमा छ ।
त्यस्तै नेदरल्याण्ड्स २० खेलबाट २६ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।
सिरिजमा नेपालसहित स्कटल्याण्ड डिफेन्डिङ च्याम्पियन र सुपर लिगबाट आएको नेदरल्याण्ड्सको टोली छ । यसपछि नेपालले बुधबार नेदरल्याण्डसँग खेल्नेछ ।
यस्तै नेपालले स्कटल्याण्डसँग आउँदो आइतबार खेल्दा आगामी मंगलबार नेदरल्याण्डसँग खेल्ने तालिका छ ।
नेपालले स्कटल्याण्डसँग ८ एकदिवसीय खेल खेलेको छ, जसमा ४ जित, ३ हार र १ रद्द भएको छ ।
नेदरल्याण्ड्ससँग ५ खेल्दा २ जित, ३ हारको नतिजा छ । रोहित पौडेलको कप्तानी र दीपेन्द्र सिंह ऐरीको उपकप्तानमा टिम बनेको छ ।
टीममा कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, अनिल शाह, भिम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी छन् ।
प्रकाशित मिति २०८२ जेठ २० गते सोमबार ०९:०१




