आचार्य उर्जा जलश्राेत तथा खानेपानी र मनाङे यूवा तथा खेलकूद मन्त्री
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेटमाथिको छलफलअघि विना विभागीय मन्त्रीहरुकाे जिम्मेवारी बाँडफाट टुङ्ग्याएका छन् ।
आइतबार सत्ता साझेदार जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले यसअघि अस्वीकार गरेको मन्त्रालयमै चित्त बुझाएका छन् । आचार्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ र मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।
अर्थ मन्त्रालय दाबी गरिरहेका आचार्यले भनेको मन्त्रालय नपाएको बताए पनि भित्री रुपमा जसपाका दुबै सांसदलाई मन्त्री बनाउनुपर्ने माग गरिरहेका थिए भने मनाङेले भौतिक पूर्वाधार मन्त्रालय चाहिने भन्दै अस्वीकार गरेका थिए ।
जेठ २९ गते नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले साे बेला कांग्रेस सांसद कुमार खड्का, माओवादी केन्द्रकी सांसद मधुमाया अधिकारी, जनता समाजवादी पार्टी (जसपा)का हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई बिना विभागीय मन्त्री बनाएका थिए ।
प्रदेशमा माओवादी र कांग्रेसले को मन्त्री बन्ने भन्ने अझै टुङ्गाे लगाउँन नसक्दा मन्त्रिपरिषद्ले पूर्णता भने अझै पाइसकेको छैन् । मन्त्रीको जिम्मेवारी बाँडफाँट सकेपछि संसदमा बजेट छलफल हुने र पारितपछि मन्त्रिपरिषद बिस्तार हुने मुख्यमन्त्री नेपालीले बताएका छन् ।
प्रकाशित मिति २०७८ असार २७ गते आइतबार ११:०८




