२०८३ असोज २४ गते शनिबार

पाँचौं बंगलाचुली कप : क्रिकेटमा वडा नं. ४ र भलिबलमा वडा नं. ५ तथा ८ च्याम्पियन

पाँचौं बंगलाचुली कप : क्रिकेटमा वडा नं. ४ र भलिबलमा वडा नं. ५ तथा ८ च्याम्पियन

हिमाल महरा

@Public 4K Tv

२०८२ जेठ २७ गते सोमबार ०६:००

व्यक्तिगत पुरस्कारहरूमा पनि वडा नम्बर ४ अग्रणी

घोराही ।

बंगलाचुली गाउँपालिका–४ ले पाँचौं बंगलाचुली कप अन्तरगतको क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा वडा नम्बर २ लाई पराजित गर्दै चौथो पटक उपाधि हात पारेको छ ।

फाइनल खेलमा वडा नम्बर ४ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिँदै ९९ रन बनाएको थियो। १०० रनको लक्ष्यसहित मैदानमा उत्रिएको वडा नम्बर २ ले ५० रन मात्र बनाउन सक्यो । यससँगै वडा नम्बर ४ पाँचौं संस्करणसम्ममा लगातार फाइनल पुग्ने र सर्वाधिक उपाधि जित्ने टोली बन्न सफल भएको छ ।

वडा नम्बर ४ का तर्फबाट राजेन्द्र गिरिले २३ बलमा ३ चौका सहित २७ रन जोडे, जगत नेपालीले १० बलमा १ चौका र १ छक्का सहित १८ रन, र कमल नेपालीले १० बलमा १ चौकासहित १२ रन बनाए ।

बलिङतर्फ वडा नम्बर २ का शिशिर जिसीले ३ ओभरमा ३० रन खर्चिँदै ३ विकेट लिए भने शिशिर गोराथोकीले ३ ओभरमा १ मिडेन सहित २० रन दिँदै २ विकेट लिए ।

वडा नम्बर २ को ब्याटिङ लाइनअप भने कमजोर देखियो । शिशिर जिएमले १० रन र शरद जिएमले १८ रन बनाउँदा अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । वडा नम्बर ४ का बलर समीर थापाले ३ ओभरमा १२ रन दिँदै ३ विकेट लिए । त्यस्तै, अंकित पुनले १ ओभरमा ५ रन खर्चेर २ विकेट लिए भने कमल नेपालीले ३ ओभरमा ११ रन दिँदै १ विकेट लिए ।

व्यक्तिगत पुरस्कारहरूमा पनि वडा नम्बर ४ अग्रणी

क्रिकेट प्रतियोगितामा राजेन्द्र गिरि ‘म्यान अफ द सिरिज’ घोषित भए । बेष्ट ब्याट्सम्यान वडा नम्बर ६ का चुमान वली बने भने बेष्ट बलरको उपाधि वडा नम्बर ४ कै कमल नेपालीले प्राप्त गरे।

प्रतियोगितामा विजेता वडा नम्बर ४ ले ३० हजार रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो। उपविजेता वडा नम्बर २ ले १८ हजार रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । पुरस्कार प्रतियोगिता समितिका सदस्य सचिव तथा युवा, शिक्षा तथा खेलकुद शाखाका प्रमुख ओम केसीले हस्तान्तरण गरेका थिए ।

भलिबलमा वडा नम्बर ५ र वडा नम्बर ८ च्याम्पियन

पुरुष भलिबलतर्फ वडा नम्बर ५ पहिलो, वडा नम्बर ७ दोस्रो र वडा नम्बर ६ तेस्रो भए । महिला भलिबलतर्फ भने वडा नम्बर ८ पहिलो, वडा नम्बर ७ दोस्रो र वडा नम्बर १ तेस्रो भएको वडा नम्बर ३ का अध्यक्ष तथा आयोजक समिति संयोजक शोभाराज विश्वकर्माले जानकारी दिए ।
भलिबलको विजेता टोलीले २६ हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो स्थान हासिल गर्ने टोलीले १६ हजार र तेस्रो हुने टोलीले ९ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

पुरुष भलिबलमा ७ वटा वडा र महिला भलिबलमा ६ वटा वडाबाट र क्रिकेटमा भने ८ वटै वडाबाट टोली सहभागी भएको वडा नम्बर ४ का अध्यक्ष तथा प्रतियोगिता समिति सदस्य डास बहादुर डाँगीले जानकारी गराए ।

खेल क्षेत्र विकासमा गाउँपालिकाको लगानी–सांसद शर्माको प्रशंसा

पुरस्कार वितरण समारोहको प्रमुख अतिथि पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा दाङ क्षेत्र नम्बर २ की संघीय सांसद रेखा शर्माले बंगलाचुली गाउँपालिकाले सीमित स्रोत र साधनबीच पनि खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको भन्दै प्रशंसा गरिने् ।

“खेल क्षेत्र देशको लागि अत्यन्त आवश्यक क्षेत्र हो। यसले शारीरिक र मानसिक स्वास्थ्य मात्र होइन, राज्यको प्रतिष्ठासँग समेत जोडिएको छ,” उनले भनिन् ।

प्रकाशित मिति २०८२ जेठ २७ गते सोमबार ०६:००
हजुरको प्रतिक्रिया