२०८३ असोज २४ गते शनिबार

विश्वकप क्रिकेट लिग–२ : आफ्नो अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

विश्वकप क्रिकेट लिग–२ : आफ्नो अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २८ गते मंगलबार ०९:२३

सिरिजको तिन मध्य दुई खेलमा जित र एक खेलमा हार भोगेको नेपाली टोली आज नेदरल्यान्डलाई हराउँदै सिरिजमा सुखद अन्त्य गर्न चाहन्छ । 
लिगको १५ खेलमध्य चार खेलमा जित, ९ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपाल १० अंकमा तालिकाको सातौँ स्थानमा छ ।

 

पोखरा ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।

खेल स्कटल्यान्डको डुन्डीस्थित फोर्टहिलमा दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

शुरुआती दुई खेल जित्दै तालिकामा चार अंक थपेको नेपाल आइतबार भएको तेस्रो खेलमा घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित हुन पुगेको थियो ।

यसअघि नेपालले गएको १९ गते सोमबार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई एक विकेट र त्यसपछि बुधबार भएको दोश्रो खेलमा नेदरल्याण्ड्सलाई पाँच विकेटले हराएको थियो ।

तेस्रो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको नेपाल आज तेस्रो जितको खोजीमा मैदान उत्रँदैछ ।

नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म ६ वटा एकदिवसीय खेल भएका छन् । जसमा समान नेपालले तीन र नेदरल्यान्ड्सले तीन खेल जितेको छ ।

सिरिजको तिन मध्य दुई खेलमा जित र एक खेलमा हार भोगेको नेपाली टोली आज नेदरल्यान्डलाई हराउँदै सिरिजमा सुखद अन्त्य गर्न चाहन्छ ।

सिरिजमा खेलेका दुई खेलमा लगातार हार भोगेको नेदरल्यान्डस पहिलो जितको खोजीमा हुनेछ ।

लिग–२ को अंक तालिकामा नेपाल सातौँ स्थानमा छ । लिगको १५ खेलमध्य चार खेलमा जित, ९ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपाल १० अंकमा तालिकाको सातौँ स्थानमा छ ।

लिगमा २२ खेल खेलेको नेदरल्यान्ड्सले १२ खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँड्दै २६ अंकमा तालिकाको दोस्रो स्थानमा छ ।

नेपालसहित अमेरिका, नेदरल्यान्ड्स, ओमान, स्कटल्याण्ड,क्यानडा, नामिविया र यूएई गरी आठ टोली सहभागी लिग–२ एकदिवसीय विश्वकप सन् २०२७ को छनोट प्रतियोगिता समेत हो ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ ।

पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्नेछ ।

प्रकाशित मिति २०८२ जेठ २८ गते मंगलबार ०९:२३
हजुरको प्रतिक्रिया