२०८३ असोज २४ गते शनिबार

१५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद शुरू

१५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद शुरू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २९ गते बुधबार ०३:४८

काठमाडौ । सुदूरपश्चिम प्रदेशकी संगीता विक र वागमती प्रदेशका प्रवीण रानामगरले १५ औं राष्ट्रपति रनिङ केन्द्रिय खेलकुदको एथलेटिक्समा बुधवार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवारदेखि...

काठमाडौ ।
सुदूरपश्चिम प्रदेशकी संगीता विक र वागमती प्रदेशका प्रवीण रानामगरले १५ औं राष्ट्रपति रनिङ केन्द्रिय खेलकुदको एथलेटिक्समा बुधवार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवारदेखि शुरु भएको राष्ट्रपति रनिङ शिल्डमा संगीताले छात्रा चार सय मिटर र प्रवीणले छात्र एक सय मिटर दौडमा कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।
यी दुईले कीर्तिमानवापत १० हजार र स्वर्ण पदकको पाँच हजार गरी कुल १५ हजार रूपैयाँ नगद पुरस्कार पाए ।
संगीताले निर्धारित दूरी एक मिनेट १.१९ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाइन् ।
संगीताले २०७६ सालमा अरुणा रिजालको नाममा रहेको एक मिनेट १.३० सेकेन्डको कीर्तिमान सुधार गरेकी हुन् ।
वागमतीकी अनिशा थारुले रजत र कर्णालीकी कृष्णा रानाले काँस्य जिते ।
प्रवीणले भने निर्धारित दूरी १०.७६ सेकेण्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जिते ।
यसअघि आशिष चौधरीको नाममा १०.९० सेकेण्डको कीर्तिमान थियो ।
उनले त्यो कीर्तिमान २०७० सालमा बनाएका थिए ।
कोशी प्रदेशका सुजन मण्डलले रजत तथा लुम्बिनी प्रदेशका शुभम बमरेलले काँस्य पदक जिते ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको रनिङ शिल्डअन्तर्गत एथलेटिक्समा कुल २६ स्वर्ण पदकका लागि प्रतिष्पर्धा भइरहेको छ ।
छात्रा एक सय मिटर दौडमा वागमतीकी दिना गोपालीले स्वर्ण जितिन् ।
उनले १२.८१ सेकेण्ड समय लगाइन् ।
लुम्बिनीकी आरुशी भट्टराईले रजत र गण्डकी प्रदेशकी अनुष्का अधिकारीले काँस्य पदक जितिन् ।
छात्र चार सय मिटर दौडमा कर्णालीका धीरेन्द्र विकले स्वर्ण पदक जिते ।
उनले निर्धारित दूरी पूरा गर्न ५१.८९ सेकेन्ड समय खर्चे । गण्डकीका प्रकाश महतोले रजत र सुदूरपश्चिमका विक्रम विष्टले कांस्य पदक प्राप्त गरे ।
त्यस्तै छात्र हाइजम्पमा बागमतीका अविनाश सुनारले स्वर्ण पदक जिते ।
उनले १.६८ मिटर जम्प गरे ।
सुदूरपश्चिमका उज्ज्वलकुमार विकले रजत र गण्डकीका विवेक महतोले काँस्य पदक जिते ।
यसै प्रतिस्पर्धाको छात्रामा १.३८ मिटर उचाइ जम्प गर्दै सुदूरपश्चिमकी सुस्मिता चौधरीले स्वर्ण जितिन् ।
गण्डकीकी सविता खातुन मियाले रजत र कर्णालीकी हीरा बुढाले काँस्य पदक जिते।
सटपुटको छात्रमा सुदूरपश्चिमका विवेक चौधरीले स्वर्ण जिते । उनले १३.६१ मिटर टाढा फ्याले ।
लुम्बिनीका राजन भण्डारीले रजत र कर्णालीका केशव विकले काँस्य पदक प्राप्त गरे ।
उक्त स्पर्धाको छात्रामा वागमतीकी एलिना विकले स्वर्ण जितिन् । एलिनाले ८.६९ मिटर टाढा फालिन् ।
सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी सम्झना चौधरीले काँस्य जिते ।
छात्रा एक हजार पाँच सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारीले स्वर्ण पदक जितिन् ।
नारायणीले पाँच मिनेट ३.९ सेकेण्डमा दूरी तय गरिन् ।
वागमतीकी भगवती खड्काले र सुदूरपश्चिमकी देवकी धामीले कांस्य पदक जिते ।

प्रकाशित मिति २०८२ जेठ २९ गते बुधबार ०३:४८
हजुरको प्रतिक्रिया