२०८३ असोज २४ गते शनिबार

१५औं राष्ट्रपति रनिङशिल्डमा वागमती च्याम्पियन, गण्डकी बन्यो चौथो

१५औं राष्ट्रपति रनिङशिल्डमा वागमती च्याम्पियन, गण्डकी बन्यो चौथो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३१ गते शुक्रबार ०७:२५

पोखरा वागमती प्रदेश १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मा टिम च्याम्पियन भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सम्पन्न प्रतियोगितामा वागमती कुल ३६ स्वर्णसहित टिम च्याम्पियन भएको हो । तीन दिने प्रतियोगितामा...

पोखरा
वागमती प्रदेश १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मा टिम च्याम्पियन भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सम्पन्न प्रतियोगितामा वागमती कुल ३६ स्वर्णसहित टिम च्याम्पियन भएको हो । तीन दिने प्रतियोगितामा सात रजत र ११ काँस्य पदक जित्यो । यस प्रतियोगितामा एथलेटिक्समा सबैभन्दा धेरै २६ स्वर्णका लागि प्रतिष्पर्धा भएको थियो । त्यसमा बागमतीले १२ स्वर्ण जित्दै टिम च्याम्पियन बन्न बलियो साथ दिएको हो ।

गत वर्ष च्याम्पियन सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा सीमित भयो । सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जित्यो । स्थानीय तहबाट नै छनोट गरी युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले २०६३ सालदेखि हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सात प्रदेशबाट कुल ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य गरी दुई सय ३० पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

यु–१८ वर्षमुनि उमेरसमूहका विद्यार्थीले प्रतिष्पर्धा गर्ने रनिङ शिल्डमा उसु, तेक्वान्दो, कराते, भलिबल, कबड्डी र एथलेटिक्स गरी कुल ६ खेलमा प्रतिस्पर्धा भएको थियो । लुम्बिनी प्रदेश तेस्रो बन्न सफल रह्यो । लुम्बिनीले पाँच स्वर्ण, १३ रजत र १५ कांस्य पदक प्राप्त गर्यो ।

त्यसपछि गण्डकी चौथो, कर्णाली पाँचौं, मधेश छैटौं र कोशी प्रदेश पुछारमा रह्यो । गण्डकी र कर्णालीले समान चार स्वर्ण पदक प्राप्त गरे । गण्डकीले ११ रजत र १७ कांस्य तथा कर्णालीले ६ रजत र १९ कांस्य पदक जिते । मधेशले भने तीन स्वर्ण, दुई रजत र १० कांस्य जित्यो । कोशी प्रदेश भने स्वर्ण पदकविहीन बन्यो । कोशीले समान सात रजत र आठ कांस्य पदक जित्यो ।

टिम च्याम्पियन टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरेका थिए ।

प्रकाशित मिति २०८२ जेठ ३१ गते शुक्रबार ०७:२५
हजुरको प्रतिक्रिया