कम्प्युटर एशोसिएसन नेपाल (क्यान महासंघ) ले सातै प्रदेशका सात/सात जना गरी ४९ जना विद्यार्थीहरुलाई करिब २ कराेड बराबरकाे छात्रवृत्ति प्रदान गर्ने भएकाे छ । क्यान एक विज्ञप्ति जारी गर्दै ‘नेशनल आईसीटी स्कलरसीप २०७७’ को आवेदन खुल्ला गरेको जनाएकाे छ ।
साे छात्रवृत्ति अन्तर्गत छात्रवृत्ती प्राप्त गर्ने विद्यार्थीहरूले मलेसियाको एशिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इन्नोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउन्डेसनमा स्नातक तह अन्तरगत विएससी आईटीको अध्ययन गर्न पाउनेछन् ।
क्यानका अनुसार फिमेल मेरिट आईसीटी स्कलरसीपमा प्रत्येक प्रदेशबाट चार जनाको दरले २८ जना छात्रालाई छात्रवृत्ती प्रदान गरिने छ भने आईसीटी मेरिट स्कलरसीप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रवृत्ती प्रदान गरिने छ । त्यस मध्ये हरेक प्रदेशबाट एक/एक जना छात्रालाई पूर्ण निःशुल्क र अन्य विद्यार्थीहरूलाई ५० प्रतिशत छात्रवृत्ति र २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । यसरी छात्रवृत्ति प्रदान गर्दा ४९ जना विद्यार्थीलाई १ करोड ९६ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको छात्रवृत्ती प्रदान गरिनेछ ।
साे छात्रवृत्तिमा आवेदन दिनका लागि https://www.lbef.org/ictscholarships-2077/ मा क्लिक गरी असोज ९ भित्र अनलाइन फारम भर्नुपर्ने क्यानले बताएकाे छ । साे फारम भर्नका लागि नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंक सहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तिमा ५० प्रतिशत अंक ल्याई सिटीइभिटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाे विद्यार्थी हुनुपर्नेछ । साथै छात्रवृत्तिका लागि हाल कक्षा १२ को परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्ने छन् ।
प्रकाशित मिति २०७७ भदौ ३० गते मंगलबार ०२:२८




