२०८३ साउन २१ गते बिहीबार

रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने

रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ५ गते आइतबार १०:३३

काठमाडौँ । जेन्जी आन्दोलनका अगुवा सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । आइतबार रास्वपाको केन्द्रीय कार्यालय पुगेर पार्टी प्रवेश गरेका उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १...

काठमाडौँ ।
जेन्जी आन्दोलनका अगुवा सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । आइतबार रास्वपाको केन्द्रीय कार्यालय पुगेर पार्टी प्रवेश गरेका उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँगको सघन छलफलपछि आफू उम्मेदवारी दिने निष्कर्षमा पुगेको गुरुङले बताएका छन् ।

गुरुङले रास्वपाको टिकटमा गोरखा १ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने स्पष्ट पार्दै निर्वाचनको तयारी समेत सुरु गरिसकेको जानकारी दिए । ‘आज रास्वपामा प्रवेश गरेँ र अब रास्वपाकै टिकटमा गोरखा १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन्छु,’ उनले भने, ‘मैले निर्वाचनको तयारी थालिसकेको छु र अब गोरखा जाँदैछु ।’ उनी गोरखाका स्थानीय बासिन्दा हुन् र युवा पुस्तामाझ उनको राम्रो पकड रहेको मानिन्छ ।

गुरुङ ‘हामी नेपाल’ नामक गैर सरकारी संस्थाका संस्थापक हुन् । उनी विसं २०८१ भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनका प्रमुख पात्रमध्ये एक मानिन्छन् । सो आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र सरकार गठन लगायतका गतिविधिमा समेत उनी सक्रिय रूपमा संलग्न रहँदै आएका थिए ।

पछिल्लो समय रास्वपासँग बालेन्द्र शाह र कुलमान घिसिङलाई एकता गराउन गुरुङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । आइतबार बालेन्द्र शाह रास्वपा केन्द्रीय कार्यालय प्रवेश गर्ने क्रममा गुरुङले नै उनलाई गाडीमा राखेर लगेका थिए । लामो समयदेखि सामाजिक र राजनीतिक अभियानमा सक्रिय गुरुङको रास्वपा प्रवेश र गोरखाबाट उम्मेदवारी घोषणालाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।

प्रकाशित मिति २०८२ माघ ५ गते आइतबार १०:३३
हजुरको प्रतिक्रिया