२४ जनाको कार्यकारिणी समिति , राजेन्द्र महताे बरिष्ठ नेता
काठमाडाैं । उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपाको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि बुधबार आयोग पुगेको हो ।
सो पार्टीको आयोगमा दर्ता नम्बर ४३४ रहेको छ । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने वरिष्ठ नेता महतोले जानकारी दिए ।
आफूहरुको पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ सांसद रहेको पनि महतोले बताए । पार्टीको चुनाव चिन्ह साइकल कायम गरिएको छ।
दर्ताका लागि निवेदन दिएपछि निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महतोले पार्टीलाई सशक्त ढंगले अघि बढाइने बताए । उनले एकताबद्ध रहेको पार्टीलाई उपेन्द्र यादवले फुटाइदिएको आरोप लगाउँदै नयाँ पार्टी बनाउनु आफूहरुको बाध्यता रहेको बताए । महन्थ ठाकुर पक्षका अर्का एक नेताले आफूहरुको पार्टी उपेन्द्र यादवको भन्दा ठूलो रहेको दावी गर्दै आगामी दिनमा थप सशक्त बनाउने बताए ।
नेताहरुका अनुसार पार्टीले तत्काल सरकारमा नजाने नीति बनाएको छ । आफूहरुको माग पुरा गरेको खण्डमा सरकारमा जान सकिने सो पार्टीको भनाइ छ । मधेस आन्दोलनका बन्दीको रिहाइ, मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ, संविधान संशोधनलगायतका मागमा सरकार प्रतिबद्ध भए यसबारे सोच्न सकिने ठाकुर पक्षको भनाइ छ ।
प्रकाशित मिति २०७८ भदौ २ गते बुधबार ०८:४९




