पोखरा ।
उज्वेकिस्तानमा जारी एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत आफ्नो दोश्रो खेलमा आज नेपालले श्रीलंकासँग खेल्दैछ
खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुन योदकोर रंशशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ ।
गएको आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलको फराकिलो अन्तरले हराएको थियो भने श्रीलंका उज्वेकिस्तानसँग १०–० गोलले हारेको थियो ।
उज्वेकिस्तानमा आइतबारबाट सुरू भएको समूह ‘एफ’को छनोटमा नेपालले लाओसविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो ।
यो खेलमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यो खेलको कप्तानी सावित्रा भन्डारीले सम्हालेकी छिन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) लाओसविरूद्धको खेल सुरू हुनु केही बेरअघि मात्र सावित्रालाई कप्तान घोषणा गरेको हो । छनोटमा नेपालले अब आगामी शनिबार आयोजक उज्वेकिस्तानसँग खेल्ने तालिका छ ।
समूह ‘एफ’ मा रहेको नेपाल तीन अंकसहित तालिकाको दोश्रो स्थानमा छ भने उज्वेकिस्तान शीर्ष स्थानमा छ । लाओस तेश्रो र श्रीलंका तालिकाको पुछारमा छ ।
महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् ।
१२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।
पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा श्रीलंका एक सय ५९औं स्थानमा छ ।
प्रकाशित मिति २०८२ असार १८ गते बुधबार ०९:१५




