पोखरा ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखरा–९ स्थित श्री सहारा बाल आधारभूत विद्यालयमा नवस्थापित विज्ञान प्रयोगशालाको उद्घाटन गर्दै यसलाई बालबालिकाको उज्यालो भविष्य निर्माणतर्फको ठूलो र सकारात्मक कदमको रूपमा उल्लेख गरेका छन् ।
उक्त कार्यक्रममा विज्ञान प्रयोगशालासँगै विद्यालयलाई प्रोजेक्टर, साउन्ड सिस्टम र फर्निचर सामग्री पनि विभिन्न दाताको सहयोगमा हस्तान्तरण गरिएको थियो ।
मन्त्री थापाले भने, “हामीले चाहेको परिवर्तन त्यहीँ विद्यालयबाट सुरु हुन्छ, जहाँ विज्ञान पढाइन्छ, प्रयोग गरिन्छ र बालबालिकाले आफ्ना सपना कोर्छन्।” उनले सार्वजनिक–निजी साझेदारीमा प्रविधि, पूर्वाधार र अवसरहरूलाई अघि बढाउने प्रदेश सरकारको प्राथमिकता दोहो¥याए ।
पोखरा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयको विकासमा प्रदेश र स्थानीय सरकार मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।
शिक्षा अधिकृत जीवन प्रसाद रेग्मीले महानगरले विद्यालयको अनुगमनमार्फत गुणस्तरीय सुधारमा ध्यान दिइरहेको बताए ।
विद्यालय सञ्चालक समिति अध्यक्ष विक्रम थकालीले पहिलोपटक रातो किताबमार्फत बजेट विनियोजन हुनु सकारात्मक पक्ष भएको बताउँदै सहयोगी दाताहरूलाई धन्यवाद दिए ।
प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयमा गरिब तथा पिछडिएको वर्गका विद्यार्थीको शैक्षिक सुधारमा विद्यालयले योगदान पुर्याइरहेको बताइन् ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा सहयोगी संस्थाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । साथै, विद्यालयलाई सहयोग गर्ने दाताहरूलाई सम्मान समेत गरिएको थियो ।
प्रकाशित मिति २०८२ असार २४ गते मंगलबार १२:५४




