२०८३ असोज २६ गते सोमबार

कारबाहीलाई शेखर कोइराला समूहको चुनौती: भन्यो- ‘यो प्रतिशोधपूर्ण र विधानविपरीत छ’

कारबाहीलाई शेखर कोइराला समूहको चुनौती: भन्यो- ‘यो प्रतिशोधपूर्ण र विधानविपरीत छ’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २६ गते बिहीबार ०५:१९

उपसभापति धनराज गुरुङले कारबाही प्रक्रिया अघि बढाउने विषयमा शीर्ष तहमा कुनै सहमति नभएको जानकारी गराएका थिए।

शेरबहादुर देउवालाई कारबाहीको प्रक्रिया रोक्न आग्रह गर्ने

काठमाडाैं ।
नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी संस्थापन पक्षले नेताहरूमाथि चलाएको अनुशासनको डण्डालाई प्रतिशोध साध्ने उद्देश्यले प्रेरित र विधानविपरीत भएको ठहर गरेको छ।

बिहीबार कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको समूहको भेलाले यस्तो निष्कर्ष निकालेको हो।

भेलाले आनन्दप्रसाद ढुङ्गाना नेतृत्वको अनुशासन समितिले गरेको कारबाहीलाई राजनीतिक रूपमा सामना गर्ने निर्णय गरेको छ। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार, बैठकले सभापति शेरबहादुर देउवालाई कारबाहीको प्रक्रिया रोक्न आग्रह गर्ने र उक्त कारबाहीलाई अस्वीकार गर्ने निर्णय गरेको छ।

कोइराला समूहले कारबाहीमा परेका नेताहरूलाई अन्याय हुन नदिने र उनीहरूलाई न्याय दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेको छ।

बैठकमा सहभागी उपसभापति धनराज गुरुङले कारबाही प्रक्रिया अघि बढाउने विषयमा शीर्ष तहमा कुनै सहमति नभएको जानकारी गराएका थिए। उनले सभापति, उपसभापति र महामन्त्रीहरूबीच हाललाई अनुशासनका उजुरीहरूमाथि कारबाही अघि नबढाउने समझदारी बनेको भए पनि त्यसलाई लत्याइएको बताए।

गुरुङले अनुशासन समितिका संयोजक ढुङ्गानाले समितिमा कुनै छलफल नै नगरी एकलौटी रूपमा बुधबार विज्ञप्ति जारी गरेर कारबाहीको निर्णय सुनाएको भन्दै आपत्ति जनाएका थिए।

प्रकाशित मिति २०८२ असार २६ गते बिहीबार ०५:१९
हजुरको प्रतिक्रिया