पाेखरा ।
पोखरामा विपी स्मृति एमेचर फुटसल प्रतियोगिता हुने भएको छ ।
आउँदो साउनको ६ र ७ गते पोखरा रंगशालास्थित मल्टिप्रपोज हलमा एमेचर फुटसल प्रतियोगिता हुन लागेको हो ।
अमित गुरुङ र अन्तिम गुरुङले आफ्ना स्वार्गारोहण भएका साथिहरुको स्मृतिमा प्रतियोगिताको आयोजना गर्न लागेको नयाँ गाउँ युवा क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिए ।
फुटबलको आयोजना गर्ने योजना बनाएपनि सुरुवातमा फुटसल गर्न लागिएको उनले बताए । प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उच्च गोलकर्तालाई समान दुई÷दुई हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
युवाको प्रतिभा उजागर गर्न र स्थानीय र राष्ट्रिय खेलाडीबिच सम्पर्क तथा सम्बन्ध स्थापित गर्ने उद्देश्यले पहिलो पटक प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष गुरुङले बताए । दुई दिनसम्म चल्ने प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने अनुमान गरिएको छ ।
प्रतियोगीताबाट बचत हुने रकम तनहँुको भानु नगरपालिका ७ मा रहेको चण्डिका बालगृहलाई सहयोग गर्ने आयोजकले जनाएको छ ।
सो बाल गृहमा हाल विभिन्न जिल्लाका १८ जना असहाय बालबालिका आस्रित छन् । अनिल गुरुङ, साजत कार्की र उत्तम गुरुङको स्मृतिमा उनका साथिद्धय अमित र अन्तिमले मुख्य प्रायोजन गरेका हुन् ।
प्रकाशित मिति २०८२ असार २८ गते शनिबार ०७:४७




