पोखरा ।
साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ ।
बंगलादेशको बसुन्धरा किङ्स एरेनामा जारी खेल नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।
यसअघि सम्पन्न खेलमा नेपालले दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो ।
श्रीलंकाले भने आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९–१ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भुटानसँग ५–० को हार बेहोरेको थियो ।
प्रतियोगितामा बंगलादेश २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने नेपाल र भुटानको समान ३ अंक छ । गोलअन्तरमा अघि रहेको नेपाल दोस्रोमा छ ।
नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा भइरहेको छ ।
हरेक देशले एक अर्काविरुद्ध २–२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।
नेपालले अब अर्को खेल जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।
प्रकाशित मिति २०८२ असार ३१ गते मंगलबार ०९:००




