लिगमा प्रतिस्पर्धा गर्न नेपालको च्याम्पियन टोली हेल्प नेपाल स्पोट्र्स क्लब माल्दिभ्स प्रस्थान
पोखरा ।
माल्दिभ्समा आयोजना हुने काभा मेन्स च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न नेपालको च्याम्पियन टोली हेल्प नेपाल स्पोट्र्स क्लब सोमबार माल्दिभ्स प्रस्थान गरेको छ ।
यही जुलाई १७ देखि २३ सम्म (साउन १–७ गते) हुने लिगमा सुबास कुँवरको कप्तानीमा रहेको हेल्प नेपाल स्पोट्र्स क्लबले पहिलो पटक विदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएको हो ।
तीन विदेशी खेलाडीसहित १३ सदस्यीय सन्तुलित टिम बनाएर हेल्प नेपाल माल्दिभ्स गएको छ ।
नेपाल भलिबल संघ (एनभीए)ले आयोजना गरेको प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल लिगको च्याम्पियनको हैसियतले हेल्प नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले आयोजना गर्ने च्याम्पियन क्लबहरूको प्रतियोगिता काभा मेन्स च्याम्पियन्स लिगमा खेल्ने अवसर पाएको हो ।
काभा मेन्स च्याम्पियन्स लिगमा नेपालसहित श्रीलंका, माल्दिभ्स, काजाखस्तान, कीर्गिस्तानको च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्ने भलिबल संघले जनाएको छ ।
आयोजक राष्ट्रकै हैसियतमा माल्दिभ्सबाट दुई क्लबले सहभागिता जनाउने भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।
हेल्प नेपाल स्पोट्र्स क्लबका अध्यक्ष बासुदेव श्रेष्ठले हेल्प नेपाल स्पोट्र्स क्लबले एक दशक देखि नेपाली भलिबलमा योगदान गर्दै आएको र विदेशी कोर्टमा गएर नेपालको झण्डा फहराउन तयार रहेको बताए ।
त्यस्तै हेल्प नेपाल स्पोट्र्स क्लबका मुख्य प्रशिक्षक उत्सव खड्काले यस पटक टिम सन्तुलित रहेको र उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
उनले सहभागी टिमहरूमध्ये काजखस्तानको क्लब केही बलियो देखिएको र त्यही अनुसार रणनीति बनाएर खेल्नुपर्ने बताए ।
यस पटक काभा च्याम्पियन्स लिग भलिबल हेल्प नेपालसहित सहभागि सबै क्लबका लागि महत्वपूर्ण छ किनकि मध्य एसियाको यस प्रतियोगिताबाट विजेता बन्ने टोलीले एसियाली स्तरमै खेल्न पाउने छ ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दका अनुसार काभा च्याम्पियन्स लिगको विजेता टोलीले एसियन क्लब भलिबल प्रतियोगिता खेल्न पाउनेछ ।
त्यसैले हेल्प नेपालका लागि काभामा उत्कृष्ट प्रदर्शन गर्दै एसियन लेभलमा समेत पुग्ने अवसर हुनेछ ।
प्रकाशित मिति २०८२ असार ३१ गते मंगलबार ०९:०२




