काठमाडौं ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् ।
७८ लाख घुस प्रकरणमा मुछिएका उहाँले आज पदबाट राजीनामा दिएका हुन् ।
मन्त्री गुप्ताले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुक यसबारे उल्लेख गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको उल्लेख गरेका छन्। कहिलेकाहीँ नखाएको विष पनि लाग्ने मन्त्री गुप्ताले टिप्पणी गरे ।
घुस प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बालुवाटारमा बोलाएर संलग्न व्यक्तिहरूबारे पनि गुप्तासँग सोधपुछ गरेका थिए । अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइसकिएको छ ।
केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो । यस विषयमा छानबिन तथा मन्त्रीको राजीनामाका लागि दबाव बढेको थियो ।





