२०८३ असोज २३ गते शुक्रबार

लुम्बिनी लाभाजमा अनुबन्ध भइन् गण्डकीकी रिक्जना बोटे

लुम्बिनी लाभाजमा अनुबन्ध भइन् गण्डकीकी रिक्जना बोटे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३ गते शुक्रबार ०८:१७

आज भएको अक्सनमार्फत रिक्जनलाई लुम्बिनीले टिममा अनुबन्ध गरेको हो ।

पोखरा ।

गण्डकी प्रदेशकी खेलाडी रिक्जना बोटे दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजमा अनुबन्ध भएकी छन् ।

आज भएको अक्सनमार्फत रिक्जनलाई लुम्बिनीले टिममा अनुबन्ध गरेको हो ।

गत असारमा नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेश चौथो हुँदा रिक्जना प्रतियोगिताकै उदीयमान खेलाडी घोषित भएकी थिइन् । अक्सनमार्फत ४२ खेलाडी अनुबन्ध हुँदा गण्डकी प्रदेशको टिमबाट रिक्जना मात्रै परेकी हुन् ।

केही वर्षअघिसम्म बलियो रहेको गण्डकी प्रदेशको भलिबल टोली पछिल्लो समय गुमनाम जस्तो अवस्थामा छ । गण्डकी प्रदेश महिला भलिबल प्रशिक्षक मलिन रोका र राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको अग्रसरतामा गण्डकीले पछिल्ला केही राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिता जनाउन थालेको छ ।

२०८२ को सुरुआतमा भएको दुई राष्ट्रिय प्रतियोगितामा गण्डकीले खासै राम्रो प्रदर्शन गर्न नसक्दा पनि रिक्जनाले धेरैको मत जितेकी थिइन् । जसले रिक्जनालाई लुम्बिनि लाभाजसम्म पु¥याएको हो ।

प्रशिक्षक रोकाले छोटो समयमै गण्डकीबाट खेलेका खेलाडी लिगमा अनुबन्ध हुनु सुखद भएको बताए । उनले रिक्जना लिगमा अनुबन्ध हुँदा अन्य खेलाडीलाई पनि हौसला मिल्ने विश्वास व्यक्त गरे ।

भलिबलमा रिक्जनाको भविष्य उज्वल रहेको रोकाको भनाइ छ । एथलेटिक्स खेल्ने रिक्जनालाई प्रशिक्षक रोकाले नै टिममा समेटेका थिए । उनै मलिनले रिक्जनालाई नियमित प्रशिक्षण गराइरहेका छन् ।

प्रकाशित मिति २०८२ साउन ३ गते शुक्रबार ०८:१७
हजुरको प्रतिक्रिया