काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालका पुलका डिजाइनहरु फेल भइरहेको बताए ।
शनिबार ललितपुरमा ६३ औं इन्जिनियर्स डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूले फेल भएका पुलका डिजाइनहरुको रिपोर्ट निकाल्न सडक विभागका महानिर्देशकलाई निर्देशन दिइसकेको बताए ।
किन पुलका डिजाइनहरु फेल भए भन्नेकुरा खोज्न र आगामी दिनमा सच्याउन जरुरी रहेको उनको भनाइ थियो ।
कतिपय इन्जिनियरहरु भागिरहेको भन्दै नभागि गल्ती सच्याएर अघि बढ्नसमेत उनले आग्रह गरे । सडकमा लक्ष्य राखेको भन्दै बढी काम गरेको उनले जिकिर गरे ।
मन्त्री दाहालले भने, ‘हाम्रा पुलका डिजाइनहरु फेल भएका छन् । त्यो हामीले निकाल्दै छौँ । त्यसको रिपोर्ट निकाल्दै छौँ । मैले सडक विभागका महानिर्देशकज्युलाई जिम्मा दिएको छु । किन पुलका डिजाइनहरु फेलियर भए । कति होलान् ति । के भएर त्यसो भयो । पल भासिएको, क्र्यास भएको छ । जमिन तल छ, आकाशमा माथि पुल छ । त्यस्तो कुरालाई हामीले सच्याउनु पर्छ । हामी सच्याउनका लागि लागेका छौँ । त्यसको हामी अध्ययन गर्दैछौँ । कतिपय साथीहरु स्केप हुन खोज्नुहुन्छ । कोको डिजाइनरहरु हो भन्नेकुरा पत्ता लगाइसकेका छौँ । लुकेर, भागेर पनि हुँदैन । हजिो गल्ती भएको भए कहाँनेर गल्ती भयो भन्ने खोज्ने हो ।’
देशको मुहार फेर्ने काम इन्जिनियरहरुको भएको मन्त्री दाहालको भनाइ छ ।
इन्फास्ट्रक्चरको क्षेत्रमा गत वर्ष राम्रो उपलब्धि हाँसिल गरेको पनि उनले उल्लेख गरे ।
प्रकाशित मिति २०८२ साउन ५ गते आइतबार ०९:१७




