नेपाल फेरि पनि उपविजेतामै सीमित
पोखरा ।
साफ यू–२० महिला च्याम्पियनशिपको उपाधि बंगलादेशले जितेको छ ।
अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बंगलादेश पाँचौं पटक च्याम्पियन बनेको हो ।
सागोरिका एक्लैले चार गोल गरेपछि च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशले नेपाललाई फराकिलो अन्तरले हराएको हो ।
साविक विजेता बंगलादेशले उपाधि रक्षो गर्दा नेपाल भने फेरि पनि उपविजेतामै सीमित भएको छ ।
पहिलो हाफमा १ गोल मात्र बेहोरेको नेपालले दोस्रो हाफमा ३ गोल बेहोरेको हो । बंगलादेशका लागि सागोरिकाले ह्याट्रिकसहित ४ गोल गरिन् ।
खेलको आठौं मिनेटमा सागोरिकाले नेपाली गोलकिपर सुजाता तामाङ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै ओपन पोस्टमा गोल गरेकी थिइन् ।
दोस्रो हाफको ५१औं मिनेटमा दोस्रो गोल गरिन् भने ५८औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । ७७औं मिनेटमा सागोरिकाले फेरि गोल गर्दै अग्रता ४–० मा पु¥याइन् ।
अहिलेसम्म बंगलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका छन् ।
भारतले २ पटक उपाधि जितेको छ । नेपाल तेस्रो पटक उपविजेतामा सीमित बन्यो । यसअघि सन् २०१८ र २०२३ मा नेपाल उपाधिबाट चुकेको थियो ।
दुवै पटक नेपाल बंगलादेशसँग नै हारेको थियो । बंगलादेश ६ खेलमा सबै जितेर १८ अंकसहित च्याम्पियन बन्यो ।
६ खेलमा ४ मा जीत र २ हारका साथ नेपाल १२ अंकसहित दोस्रो बनेको छ ।
नेपालले बंगलादेशसँग पहिलो खेलमा ३–२ ले पराजित भएको थियो ।
बंगलादेशसँग हारे पनि नेपालले श्रीलंका र भूटानविरुद्ध सानदार जीत निकालेको थियो ।
प्रकाशित मिति २०८२ साउन ७ गते मंगलबार ०९:३७




