२०८३ असोज २४ गते शनिबार

गलेश्वरधाम मन्दिरमा एक वर्षमा ७३ लाखभन्दा बढी भेटी

गलेश्वरधाम मन्दिरमा एक वर्षमा ७३ लाखभन्दा बढी भेटी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ११ गते शनिबार ०३:१६

बाग्लुङ । बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालय मन्दिरमा एक वर्षमा ७३ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८१÷ ८२ मा गलेश्वरमा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले...

बाग्लुङ ।

बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालय मन्दिरमा एक वर्षमा ७३ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०८१÷ ८२ मा गलेश्वरमा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु ७३ लाख १५ हजार ९२७ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

सत्य युगमा पार्वतीको गला पतन भएको मानिने तथा प्रसिद्ध मुक्तिनाथ क्षेत्र प्रवेशद्धारको रुपमा चिनिन्छ गलेश्वरमा आर्थिक वर्ष २०८०÷ ८१ मा कुल ५८ लाख ४० हजार ५१० भेटी सङ्कलन भएको थियो ।

०८१÷८२ मा नियमित रु ४७ लाख १० हजार २९० र मेलापर्वमा रु २६ लाख पाँच हजार ६३७ भेटी सङ्कलन भएको कोषका कार्यालय सचिव राम बानियाले जानकारी दिए ।

भेटीसहित विभिन्न शीर्षकमा बैङ्क ब्याजबाहेक गत वर्षमा ९४ लाख १५ हजार १७ आम्दानी भएको उनले बताए ।

यज्ञ दर्ताबाट रु चार लाख ७३ हजार ५२७, यात्री निवास भाडा सात लाख १९ हजार ७१४, सहयोग तीन लाख ५९ हजार ७९ र स्टल भाडाबापत पाँच लाख ४६ हजार ७७० आम्दानी भएको छ ।

मन्दिरको आम्दानीबाट गत वर्ष ज्येष्ठ नागरिक आश्रममा रु १५ लाख खर्चेर सभाहल निर्माण, गलेश्वर बजार सौन्दर्यीकरण योजनामा बेनी नगरपालिकासँग साझेदारीमा छ लाख, घतान स्वास्थ्य चौकीमा स्तनपान कक्ष बनाउन एक लाख सहयोग गरिएको छ ।

कृष्णगण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास छ ।

गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकाररूपी चिन्ह मानवनिर्मित नभई आफै उत्पन्न भएको धार्मिक पुस्तकहरुमा उल्लेख छ ।

प्रकाशित मिति २०८२ साउन ११ गते शनिबार ०३:१६
हजुरको प्रतिक्रिया