पोखरा ।
युइएफए महिला युरो कप फुटबलको फाइनल आज हुँदैछ ।
उपाधिका लागि स्पेन र इङ्गल्यान्डबीच प्रतिश्पर्धा हुँदैछ ।
फाइनल खेल नेपाली समय अनुसार राति पौने ९ बजे स्विटजरल्याण्डको सर्वाधिक ठूलो स्टेडियम सेन्ट ज्याकोब पार्क बसेलमा हुने छ ।
यी दुई टिम दुई वर्षको अवधिमा दोस्रोपटक महत्वपूर्ण प्रतियोगिताको फाइनलमा भिड्न लागेका हुन् ।
इङ्ल्यान्ड युरोको साबिक विजेता हो भने स्पेन विश्व च्याम्पियन हो ।
दुई वर्षअघि भएको विश्वकपमा पनि यी दुई टोलीले नै फाइनल खेलेका थिए । त्यसमा स्पेन १–० ले विजयी रहेको थियो ।
आज हुने युरो २०२५ को फाइनलमा इङ्गल्यान्डले स्पेनसँग प्रतिस्पर्धा गर्दा उपाधि जित्ने लक्ष्य राख्नेछ ।
यो खेल इङ्गल्यान्डका लागि उपाधि रक्षाको मात्र हैन स्पनेसँग २ वर्ष पहिला विश्व विजेताबाट बञ्चित हुँदाको बदला पनि हुनेछ ।
इङ्गल्यान्ड र स्पेन दुवैका लागि फाइनल यात्रा कठिन नै रह्यो । दुवैले सेमिफाइनलमा १ सय २० मिनेटको कठिन प्रतिस्पर्धा गर्नुपरेको थियो ।
सुरुमै एक गोलले पछाडि रहेको स्थितिबाट इङ्ल्यान्डले इटालीलाई २–१ ले हराएको थियो । त्यसमा इङ्गल्यान्डका लागि दुई सुपर–सब खेलाडीले गोल गर्दै हारको संघारबाट फाइनल पु¥याएका थिए ।
स्पेनले भने जर्मनीलाई १–० ले पन्छाएको थियो र त्यसमा दुईपल्टको बालोन डी’अर विजेता खेलाडी आइटाना बोनमाटीले ११३औँ मिनेट गोल गरेकी थिइन् ।
खेलको अतिरिक्त समयको दोस्रो हाफमा बोनमाटीले गरेको गोलको सहयोगमा नै स्पेनले जर्मनी विरुद्धको सेमिफाइनल खेलको अन्त्यतिर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
पछिल्लो विश्वकपयता यी दुई टिमबीच दुई पटक भेट भएको छ । त्यसमध्ये एक खेलमा इङ्गल्यान्ड १–० ले विजयी रहेको छ भने अर्कोमा स्पेन २–१ ले विजयी भएको छ ।
युरोकपमा भने यी दुई टोलीको चौथो भेट हो । पछिल्लो फिफा वरीयता अनुसार स्पेन दोस्रो तथा इंग्ल्याण्ड पाँचौं स्थान छन् ।
हालसम्म यी दुई टिमबीच १४ पटक प्रतिस्पर्धा भएको छ, जसमा इङ्गल्यान्डले सात खेल जितेको छ भने स्पेनसँग चार खेलमा पराजित भएको छ । इंग्ल्याण्ड र स्पेनले तीन म्याच बराबरी खेलेका छन् ।
प्रकाशित मिति २०८२ साउन १२ गते आइतबार ०९:३१




