म्याग्दी ।
म्याग्दीबाट यसबर्ष बैधानिक रुपमा १ किलो ग्राम यार्सागुम्बा सङ्कलन र निकासी भएको छ ।
जिल्लाको उच्च हिमाली भेगमा बहुमुल्य जडिबुटी यार्सा प्रशस्त पाईने भएपनि बैधानिक रुपमा न्युन मात्रामा निकासी हुने गरेको छ । डिभिजन बन कार्यालय म्याग्दीबाट यार्सागुम्बा सङ्कलन र निकासीका लागि राजस्व तिरेर सङ्कलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्नुपर्ने भएपनि गत आर्थिक बर्ष २०८१÷०८२ सालमा यार्सा निकासीबाट ३१ हजार राजश्व संकलन भएको छ ।
म्याग्दीमा बर्षेनी १० किलोग्राम बढी यार्सा संकलन हुने अनुमान गरिन्छ । यार्सागुम्बा संकलनपूर्जी नलगि छुट पुर्जी नपाइने भएकाले संकलनकर्ताले संकलन गरेपछि स्थानीय ब्यापारीमार्फत अवैध बाटोबाट बिक्री गर्ने गरेको पाइन्छ । म्याग्दीमा एकदशक अगाडी सरकारी निकायबाटै अनुमति लिएर संकलन र छुट पुर्जी बनाई २३ किलोग्रामसम्म यार्सा निर्यात भएको थियो ।
जिल्लाको धवलागिरी गाउँपालिकाको गूर्जा, लुलाङ, मुदी, मल्कबाङ र रघुगंगा गाउँपालिकाको चिमखोला, कुईनेमंगले क्षेत्र र अन्नपूर्ण गाउँपालिकाको दानाको माथिल्लो चरन क्षेत्रमा यार्सा पाइन्छ । सबैभन्दा धेरै गुर्जा,चुरेन र पुथा हिमालको बुकी र चिमखोला क्षेत्रमा यार्सा संकलनका लागि महिना दिनसम्म बुकिमै बस्ने गर्दछन् । जिल्लामा सरकारी संयन्त्रको कमजोरीका कारण संकलन पुर्जि लिनेको संख्या र परिमाणममै भारी गिरावट आएको देखिन्छ । एउटा यार्साको बुटीलाई दुई सयदेखि दुई सय ५० सम्ममा बिक्री हुन्छ ।




