काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालबीच सार्वजनिक रूपमै व्यक्तिगत रुपमा आरोपप्रत्यारोप चलिरहेको छ ।
शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रममा अध्यक्ष नेपालले खनाललाई एमालेमै फर्केर ओलीको सेवा गरे हुन्छ भन्ने टिप्पणी गरे पछि खनालले नेपाललाई आफ्नो अनुहार ऐनामा हेर्न र आफैँ एमाले फर्किने बारे सोच्न व्यंग्यात्मक आग्रह गरेका छन् ।
नेता खनालले एमालेबाट विद्रोह गरेको चार वर्ष बितिसक्दा पनि त्यसको औचित्य पुष्टि गर्न नसकेको र अध्यक्ष नेपाल आफैँले जनताको बहुदलीय जनवाद (जबज) लाई त्याग्न नसकेको आरोप लगाए ।
‘जबज’ को मुख्य केन्द्र नेकपा (एमाले) नै भएकाले, जबज छोड्न नसक्ने अध्यक्ष नेपाल स्वयं एमालेमा फर्कनु तर्कसंगत हुने झलनाथ खनालले बताए ।
केहि समय अघि अध्यक्ष नेपालले पार्टी विद्रोहको औचित्यमाथि प्रश्न उठाएको भन्दै खनालप्रति कडा टिप्पणी गरेका गरेका थिए ।
सोही टिप्पणीबारे प्रतिक्रिया दिंदै सम्मानित नेता खनालले विवादलाई सञ्चारमाध्यममा ल्याउनुको सट्टा, १० देखि १५ दिन लामो केन्द्रीय कमिटीको बैठक बोलाएर वैचारिक विषयहरूमा गम्भीर छलफल गर्न पनि सुझाव दिए ।
नेता खनालले ‘जबज’ र ‘वैज्ञानिक समाजवाद’ जस्ता विषयमा पार्टीभित्र स्पष्टता आवश्यक रहेको र यस्तो छलफलले नै कार्यकर्तालाई प्रशिक्षित गर्ने जिकिर गरे ।
प्रकाशित मिति २०८२ साउन २५ गते शनिबार ०८:५४




