पोखरा ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको मिनी अक्सन आज हुँदैछ ।
नेपाल क्रिकेट संघ(क्यान) का अनुसार आज दिउँसो तीन बजेदेखि अक्सन शुरू हुनेछ ।
यो अक्सनका लागि एक सय ५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक भइसकेको छ ।
यसअघि चार सय ५८ जना खेलाडीले नाम दर्ता गरेकोमा ती खेलाडीबाट अन्तिम सूची घोषणा गरिएको थियो ।
एनपीएलमा आठ टोली छन् । ती टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार अन्तिम सूचीमा खेलाडी समावेश गरिएको क्यानले जनाएको छ ।
खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गरिएको छ । श्रेणी ‘ए’ मा ८ जना, ‘बी’ मा ३५ तथा ‘सी’ मा १ सय ७ खेलाडी रहेका छन् । यसबाट ३७ खेलाडीमा मात्र बोली लाग्नेछ ।
गत वर्ष भएको पहिलो सिजनको अक्सनमा एउटा टोलीले मार्कीबाहेक कम्तीमा ६५ लाख र बढीमा ९० लाख रुपैयाँ खर्च गर्न पाउने प्रावधान थियो ।
आज चितवनले ५८ लाख, विराटनगरले ४५ लाख ५० हजार, लुम्बिनीले ४५ लाख २० हजार, काठमान्डुले ४३ लाख र सुदूरपश्चिमले ४१ लाख ५० हजार खर्च गर्न पाउने छ ।
मिनी अक्सनमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषावकर, मोहम्मद आदिल आलम, सूर्य तामाङ र सुनाम गौतम ‘ए’ श्रेणीमा रहेका छन् ।
उनीहरूको भाउ न्युनतम १० लाख रुपैयाँ रहेको छ भने अधिकतम १५ लाख हुनेछ ।
‘बी’ श्रेणीको भाउ ५ लाख रुपैयाँ रहेको छ र अधिकतम १० लाखमा गएर टुंगिने छ । ‘बी’ श्रेणीमा रहेका ३५ खेलाडी छन् ।
त्यस्तै ‘सी’ श्रेणीमा १ सयभन्दा बढी खेलाडी छन् ।
नेपाली यू–१९ क्रिकेट टोलीका उपकप्तान अभिषेक तिवारीलगायत अरनिको यादव, दीपक डुम्रे छन् ।
प्रकाशित मिति २०८२ साउन २५ गते शनिबार ०९:०३




