ए क्याटेगोरीमा रहेका ९ खेलाडीबाट चार खेलाडी अधिकतम १५ लाखमा बिक्री
पोखरा ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भएको छ ।
अक्सनबाट ए क्याटेगोरीमा रहेका ९ खेलाडीबाट चारजना सबैभन्दा महँगो मूल्यमा अनुबन्ध भएका छन् ।
‘ए’ श्रेणीका चार खेलाडीलाई जनही १५ लाख रुपैयाँमा खरिद गरिएको छ । दोस्रो संस्करणका लागि देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई सबैभन्दा बढी मूल्यमा खरिद गरिएको छ ।
देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमाण्डू गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट खेल्ने तय भएको छ ।
चारै खेलाडीलाई एउटाभन्दा बढी टोलीले भित्र्याउन खाजेपनि ‘लक्की ड्र’ मार्फत निर्णय गरिएको थियो । मोहम्मद आदिल आलमका लागि भने ८ वटै टोलीले बोली लगाए ।
यसैगरी दिलीप नाथ र शेर मल्ललाई लुम्बिनी लायन्सले, हेमन्त धामीलाई सूदुरपश्चिम रोयल्सले, सूर्य तामाङलाई विराटनगर किंग्सले, सन्तोष यादवलाई काठमाण्डू गोर्खाजले र युवराज खत्रीलाई कर्णाली याक्सले जनही १० लाख रुपैयाँमा अनुबन्ध गरेका छन् ।
यस्तै मयन यादवलाई जनकपुर वोल्टस्ले सात लाख ७५ हजार रुपैयाँमा तथा आकाश त्रिपाठीलाई काठमाण्डू गोर्खाजले सात लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।
यसैगरी शंकर राना, नारायण जोशी र साहिल पटेललाई विराटनगर किंग्स्ले, अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले, विशाल पटेल र दुर्गेश गुप्तालाई लुम्बिनी लायन्सले, आदित्य महता र विकास आग्रीलाई जनकपुर बोल्टसले, विपिन रावललाई चितवन राइनोजले तथा दिपक बोहरा र मिलन बोहरालाई सुदूरपश्चिम रोयल्सले जनही ५ लाख रुपैयाँमा अनुबन्ध गरेका छन् ।
उत्तम थापा मगरलाई काठामण्डु गोर्खाजले ३ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।
यसैगरी टेकबहादुर रावत र दीपेन्द्र थापालाई सुदूरपश्चिम रोयल्सले, सन्दीप खत्री क्षेत्री, अभिषेख तिवारी र कृष्ण पौडेललाई पोखरा एभेन्जर्सले, सचिन भट्टलाई जनकपुर बोल्टसले, तुलबहादुर थापालाई काठमाण्डू गोर्खाजले, इमरान शेख र दीपक डुम्रेलाई कर्णाली याक्सले, लुम्बिनी लायन्सले आदिल खानलाई, विराटनगर किंग्सले श्रवण किश्कुलाई तथा चितवन राइनोजले विपिन आचार्य र रञ्जित कुमारलाई जनही दुई लाखमा अनुबन्ध गरेको छ ।
एनपीएलको हिजोको मिनी अक्सनमा एक सय ५० खेलाडीले भाग लिएका थिए ।
दर्ता भएका चार सय ५८ खेलाडीबाट एक सय ५० जनालाई मिनी अक्सनका लागि छनोट गरिएको थियो ।
अक्सनमा ‘ए’ श्रेणीको न्यूनतम १० लाख र अधिकतम १५ लाख, ‘बी’ श्रेणीको न्यूनतम पाँच लाख र अधिकतम १० लाख तथा ‘सी’ श्रेणीको न्यूनतम दुई लाख र अधिकतम पाँच लाख रुपैयाँ मूल्य राखिएको थियो ।
यससँगै आठ टोलीमा ८८ नेपाली खेलाडी आबद्ध भएका छन् ।
प्रत्येक टोलीमा ११–११ जना नेपाली खेलाडी भएसँगै अब टोलीहरूले कम्तिमा चार जना विदेशी खेलाडी भित्र्याउनेछन् ।
प्रकाशित मिति २०८२ साउन २६ गते आइतबार ०९:३९




