छोटो समयमा कराेड क्लवमा प्रवेश
पोखरा । चर्चित लोकदोहोरी गायिका विष्णु माझीको स्वरमा सार्वजनिक भएको तीज गीत ‘चरी जेलैमा’ले युट्युबमा छोटो समयमै १ करोड भ्यूज पाउने गीतको रेकर्ड राख्न सफल भएको छ । गीत युट्युबमा सार्वजनिक भएको १३ दिनमा नै करोड क्लवमा पुगेको हो । यो गीतले २४ घन्टामा १० लाख बढी हेरिएको गीतको रेकर्डसमेत राखेको छ ।
छोटो समयमा एक करोड भ्यूज पाउने गीत बनेको चरी जेलैमा’ मंगलबारसम्म १ कराेड ३ लाखभन्दा धेरैपटक हेरिएको छ । गीत हेर्ने दर्शकको फ्लो अझै बढ्दो छ । तीज आउन अझै समय बाँकी रहेकोले यो गीतले थप अन्य रेकर्डसमेत बनाउन सक्ने आँकलन गरिएको छ ।
यसअघि सबैभन्दा छोटो समय (१५ दिनमा) प्रकाश सपूतको ‘कुरा बुझ्न पर्च’ र अस्मिता अधिकारीको ‘टाढा भएपनि’ले एक करोड भ्यूज पाएको थियो ।
‘पुतलीको भट्टी’ भाग १७ का रुपमा सार्वजनिक ‘चरी जेलैमा’मा विष्णुकै श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । गीतमा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन छ ।
शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै निर्देशन गरेको भिडियोमा ललिता पौड्यालको अभिनय छ । सार्वजनिक भएको सुरुवाती दिनमा औसत चर्चामा रहेको यस गीतले सामाजिक सञ्जालमा चर्चा पाउँदै गएसँगै भ्यूजमा पनि नयाँ रेकर्ड राखेको थियो ।
गीतका शब्दहरु सरल र मार्मिक छन् जसले स्रोताको मन जितेको छ । गीतले छोटो समयमा नै नयाँ रेकर्ड राखेपछि भिडियोका कोरियोग्राफर शिव बि.क.ले दर्शकलाई धन्यवाद दिदै खुशी साटेका छन् ।
शम्भु चालिसेको छायाँकन रहेको गीतको भिडियोमा सुजन शाहीको सम्पादन छ । यसअघि बिष्णु माझीका आधा दर्जन गीतहरु करोड क्लवमा प्रवेश गरेका छन् । ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिप–छिपे पानीमा लेउ’, ‘पीँडालु’ विष्णुका यसअघि करोड बढी हेरिएका गीतहरु हुन् ।
प्रकाशित मिति २०७८ भदौ १५ गते मंगलबार ०२:३५




