२०८३ असोज २५ गते आइतबार

जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच कार्यगत एकताको सहमति

जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच कार्यगत एकताको सहमति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३० गते बिहीबार ०५:४९

अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकताको घोषणा गर्दै १८ बुँदे उद्देश्य, १३ बुँदे संगठनात्मक संरचना सञ्चालन विधि र र ६ बुँदे आचारसंहितामा हस्ताक्षर गरेका हुन् ।

जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच कार्यगत एकताको सहमति पत्रमा हस्ताक्षर

काठमाडौं ।
जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच बिहीबार कार्यगत एकताको सहमति पत्रमा हस्ताक्षर भएको छ । अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकताको घोषणा गर्दै १८ बुँदे उद्देश्य, १३ बुँदे संगठनात्मक संरचना सञ्चालन विधि र र ६ बुँदे आचारसंहितामा हस्ताक्षर गरेका हुन् । उनीहरूबिच चाँडै पार्टी एकता गर्ने गरी कार्यगत एकताको घोषणा गरिएको नेताहरूले बताएका छन् । यसैगरी दुई दलबिच भएको सहमति अनुसार कार्यगत एकताको संरचना तीन तहमा हुने बताइएको छ । जसमा केन्द्रीय तह, प्रादेशिक तह, स्थानीय तहमा कार्यगत एकता हुनेछ। केन्द्रीय तहमा केन्द्रीय संयोजन समिति रहने र यस समितिमा पार्टीका अध्यक्षहरूसहित दुवै पार्टीबाट ७/७ जना रहने उल्लेख छ । सहमतिमा कम्तीमा २ जना महिला हुनुपर्ने उल्लेख छ । आपसी समन्वय र कार्य सञ्चालनको लागि सचिवालय बनाउन सकिने प्रावधान राखिएको छ भने प्रादेशिक तहमा प्रदेश संयोजन समिति रहने र यस समितिमा प्रदेशका अध्यक्षहरूसहित प्रत्येक पार्टीहरूबाट ५/५ जना रहने बताइएको छ । त्यसैगरी स्थानीय तहमा हाललाई जिल्ला संयोजन समिति रहने र यस समितिमा जिल्ला अध्यक्षसहित ३/३ जना रहने तथा पार्टीका जनवर्गीय/भ्रातृ सङ्गठनहरूबिच पनि आवश्यकतानुसार संयुक्त संरचना निर्माण गर्न सकिने सहमति पत्रमा समेटिएको छ । दुई दलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै बहुजातीय/बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवादको नेपाली बाटो तय गर्ने र समाजवादी लोकतान्त्रिक राजनैतिक शक्तिको पहलमा समाजको रूपान्तरणको कार्य अगाडि बढाउने प्रमुख उद्देश्य रहेको बताएका छन् । ‘सहभागितामूलक समावेशी लोकतन्त्रसहितको सामाजिक, आर्थिक तथा राजनीतिक प्रणालीको विकास गर्ने र त्यसको माध्यमबाट नेपालको आर्थिक विकास, सुशासन, सामाजिक आर्थिक न्याय, समृद्धि र समतामूलक समाजको सुनिश्चित गर्ने’, सहमति पत्रको उद्देश्य तथा प्रतिबद्धता पत्रको एक नम्बर बुँदामा उल्लेख छ ।

प्रकाशित मिति २०८२ साउन ३० गते बिहीबार ०५:४९
हजुरको प्रतिक्रिया