बागलुङ ।
ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकले सास्ती खेप्नु परेको छ ।
राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको एक दशक बिति सक्दा पनि स्तरोन्नति हुन नसक्दा पर्यटक र स्थानीयले सास्ती खेप्नु परेको हो । ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङदेखि बोबाङसम्म सडक राम्रै भए पनि त्यसभन्दा माथि निकै अप्ठ्यारो छ । साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारी साधान ढोरपाटन पुग्न हम्मेहम्मे हुने गरेको छ । यस बेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्ने गर्दछन् । पर्यटकले प्रयोग गर्ने सवारी साधान बीचबाटोमै बिग्रिने हुँदा उनीहरुसमेत अलपत्र पर्ने गरेका छन् ।
वर्षाले सडकमा लेदोसहितको हिलो र ढुङ्गा थुपारेको हुँदा यात्रा गर्न निकै कठिन भएको छ । तराई र पहाडलाई जोड्ने गरि रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोडेको छ । सडकको दुरावस्था हुँदा पर्यटकसँगै ढोरपाटनका स्थानीयसमेत सहज रुपमा यात्रा गर्न पाएका छैनन् । सडक निकै साँघुरो र हिलाम्मे हुँदा वस्तुभाउ र मान्छेलाई लेक बेसी गर्न सकस पर्ने गरेको छ ।
वि.सं. २०७१ सालमा बागलुङ खण्डमा यस सडकको ट्रयाक खुलेको थियो । गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलो मिटर सडक पर्छ । सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । वि.सं. २०७७ भदौ १७ गते राति आएको भिषण बाढीले विभिन्न स्थानमा सडक बगाएको थियो ।
बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देविस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतीका लागि चार वर्ष अगाडि कार्तिकमा ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति २०८२ भदौ ९ गते सोमबार ०२:४३




