पोखरा ।
भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ ।
खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
यसअघि नेपालले बंगलादेशसँग आइतबार पनि खेलेको थियो सो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको थियो ।
नेपाल पहिलो खेलमा भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २–१ गोलअन्तरले हराएको थियो ।
बंगलादेशले भुटानलाई पहिलो खेलमा ३–१ ले हराउँदा भारतसँग २–० ले पराजित भएको थियो ।
अब भने आजको खेलसहित बाँकी ३ वटै खेल नेपाललाई जित्नैपर्ने दबाब छ । आजको खेलमा पराजित भएमा नेपाल २ खेल खेल्नुअगावै उपाधि होडबाट बाहिरिनेछ ।
नेपालको तीन खेलमा तीन अंकसहित तेश्रो स्थानमा छ । समान खेलमा ६ अंकसहित बंगलादेश दोश्रो स्थानमा छ । भारत नौ अंकसहित शीर्ष स्थानमा छ ।
नेपाल आजको खेलमा पराजित भएमा बाँकी २ खेल जितेपनि सर्वाधिक ९ अंकसम्म पुग्न सक्छ । तर त्यसपछि भारत र बंगलादेशबीच हुने खेलपछि एक टोलीले ९ अंक पार गर्ने भएकाले नेपाललाई अब ३ वटै खेल जित्नुको विकल्प छैन ।
यसपछि नेपालले आउँदो शुक्रबार भारतसँग र आउँदो आइतबार भूटानसँग खेल्ने छ ।
यो प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
प्रकाशित मिति २०८२ भदौ ११ गते बुधबार ०९:३८




