काठमाण्डौ ।
भारतको आसाम क्रिकेट टोलीसँगको पहिलो टी–२० अभ्यास खेलमा नेपालको ‘ए’ टोली पराजित भएको छ ।
गुवाहिटीमा आज भएको खेलमा नेपालको ‘ए’ टोली आसामसँग ‘डीएलएस’ पद्धतिमा १५ रनले पराजित भयो ।
आसामले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाएर ६४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएपछि आसाम डीएलएल पद्धतिमा विजयी भएको हो ।
नेपालका शुभ कंसाकरले नटआउट ३३, कप्तान अनिल शाहले २० रन बनाए । आसामका म्रिनमोए दत्त र अभिलाष गगोईले १र१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको आसामले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९० रन बनायो । आसामका सुमित घडिगांवकरले ३४, अभिनव चौधरीले २६ रन बनाए । नेपालका आकाश चन्दले ३ तथा विवेक यादव र कमलसिंह ऐरीले २र२ विकेट लिए ।
नेपालको ‘ए’ टोली र आसामबीचको ५ खेलको टी–२० शृङ्खला आजदेखि शुरू भएको हो । शृङ्खलाको दोस्रो खेल भोलि हुनेछ ।
प्रकाशित मिति २०८२ भदौ १२ गते बिहीबार ०८:०५