२०८३ कात्तिक १० गते सोमबार

गण्डकी बहुप्राविधिकमा पढ्ने विद्यार्थीलाई वडा कार्यालयको छात्रवृति

गण्डकी बहुप्राविधिकमा पढ्ने विद्यार्थीलाई वडा कार्यालयको छात्रवृति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ४ गते आइतबार ०४:१६

पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल तथा अटो मोबाइल इन्जिनियरिङ अध्ययनका लागि वडा कार्यालयहरुले छात्रवृत्ति दिने भएका छन् । वडा नम्बर १३ का वडा अध्यक्ष लेखबहादुर तामाङ ‘दर्शन लामा’ ले फेसबुकमा...

पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल तथा अटो मोबाइल इन्जिनियरिङ अध्ययनका लागि वडा कार्यालयहरुले छात्रवृत्ति दिने भएका छन् ।
वडा नम्बर १३ का वडा अध्यक्ष लेखबहादुर तामाङ ‘दर्शन लामा’ ले फेसबुकमा स्टाटस लेख्दै छात्रवृति सम्बन्धी सूचना सार्वजनिक गरेका छन् । उक्त सूचनामा भनिएको छ, ‘पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयद्वारा आह्वान गरिएको सिभिल र अटो मोबाइल विषयमा छनोट भएका विद्यार्थी मध्ये वडा नम्बर १३ स्थायी निवासी एक विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयको तर्फबाट तीन वर्षे कोर्ष छात्रवृत्ति प्रदान गरिने छ । ’
वडा नम्बर १९ का अध्यक्ष तथा सचेतक शोभामोहन पौडेलले फेसबुक स्टाटसमा लेखेर छात्रवृत्तिको समन्वय गरिदिन वडा कार्यालयहरुलाई आह्वान गरेका छन् । वडा नम्बर २७ का अध्यक्ष पूर्णकुमार गुरुङले वडामा बसोबास गर्ने अति विपन्न र जेहेन्दार विद्यार्थीलाई प्राथमिकता दिएर छात्रवृत्ति उपलब्ध गराउने बताए । वडा नम्बर २८ का अध्यक्ष निर्मल दियाली सुनारले आफ्नो वडाका २ जनालाई निशुल्क पढाउने बताए ।
वडा नम्बर ५, ७, १३,१८,२०,२१,२४,२६,२७, २८,२९,३०,३१ का वडा अध्यक्षहरुले प्रवेश परीक्षामा उत्तीर्ण हुने एक जना आफ्नो वडामा स्थायी बसोबास भएकाहरुलाई छात्रवृत्ति उपलब्ध गराउने पोखरा महानगरपालिका शिक्षा महाशाखाले बताएको छ । वडा नम्बर १,१६,१७,१९,२२,३२,३३ लगायतका वडाहरुले पनि एक जनालाई छात्रवृत्ति उपलब्ध गराउने विषयमा वडा कार्यालयमा छलफल भइरहेको बताएका छन् ।

यो बाहेक गण्डकी बहुप्राविधिक शिक्षालयले सिटिइभिटीबाट छनोट भएर आएका प्रति शंकाय ४ जना, प्रवेश परीक्षा उत्कृष्ट हुने प्रति शंकाय एक जना, महानगर छात्रवृत्ति प्रति शंकाय ५ जना तथा महानगर सहुलियत कोटामा ६ जनालाई छात्रवृत्ति प्रदान गरिने शिक्षालय सञ्चालक समितिका सदस्य एव वडा नम्बर २९ का अध्यक्ष चेतबहादुर गुरुङले बताए । शिक्षालयले एक सूचना जारी गरेर असोज १५ गतेसम्म भर्नाका लागि आवदेन दिन सकिने बताएको छ ।

प्रकाशित मिति २०७७ असोज ४ गते आइतबार ०४:१६
हजुरको प्रतिक्रिया