२०८३ असोज २३ गते शुक्रबार

एएफसी यु–२३ एशियन कपमा छनोट हुने लक्ष्य छः नेपाली टोली

एएफसी यु–२३ एशियन कपमा छनोट हुने लक्ष्य छः नेपाली टोली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १५ गते आइतबार ०९:१५

छनोटमा समूह के मा रहेको नेपालले आयोजक ताजिकिस्तानसँगै सिरिया र फिलिपिन्ससँग खेल्नेछ ।
नेपालले आगामी सेप्टेम्बर ३ मा ताजिकिस्तानसँग खेल्दै छनोट यात्रा थाल्नेछ । त्यसपछि सबैभन्दा बलियो टोली सिरियासँग सेप्टेम्बर ६ र तेस्रो खेल फिलिपिन्ससँग सेप्टेम्बर ९ तारिखमा खेल्नेछ ।

काठमाडौं ।

आगामी सेप्टेम्बर ३ देखि ९ तारिखसम्म ताजिकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो ।

टोलीलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राईले शुभकामना दिँदै बिदाइ गरे ।  नेपाली टोली आइतबार ताजिकिस्तान प्रस्थान गर्दैछ ।

राष्ट्रिय टिमबाट खेलिसकेका मिडफिल्डर आयुष घलान र सुमित श्रेष्ठलाई समावेश गर्दै नेपालको अन्तिम टोली घोषणा भइसकेको छ ।

छनोटमा समूह के मा रहेको नेपालले आयोजक ताजिकिस्तानसँगै सिरिया र फिलिपिन्ससँग खेल्नेछ ।

नेपालले आगामी सेप्टेम्बर ३ मा ताजिकिस्तानसँग खेल्दै छनोट यात्रा थाल्नेछ । त्यसपछि सबैभन्दा बलियो टोली सिरियासँग सेप्टेम्बर ६ र तेस्रो खेल फिलिपिन्ससँग सेप्टेम्बर ९ तारिखमा खेल्नेछ ।

हरेक ११ वटा समूहका विजेता र उत्कृष्ट चार उपविजेताले यु–२३ एसियन कपमा स्थान बनाउनेछ ।

यसैबीच नेपाली यु–२३ युवा टोलीले एएफसी यु–२३ एसियन कप क्वालिफिकेसनमा छनोट हुने लक्ष्यका साथ मैदान उत्रने बताएको छ ।

नेपाली युवा टोलीका प्रशिक्षक नवीन न्यौपानेले तयारी गर्न पर्याप्त समय पाएको र प्रशिक्षण पनि प्रभावकारी भएकाले छनोट हुने लक्ष्य रहेको आशा व्यक्त गरेका छन् ।

प्रशिक्षक न्यौपानले करिब दुई महिनादेखि तयारी गर्ने समयमा पाएको उल्लेख गर्दै यसबीचमा आफूले इन्डुरेन्समा ध्यान दिएको बताए ।

सिनियर राष्ट्रिय टोलीबाट नै खेलिसकेका चार जना र विभिन्न उमेरसमूहबाट खेलका उत्कृष्ट खेलाडी यु–२३ को टोलीमा रहेकाले उत्कृष्ट नतिजा आउनेमा उनी आशावादी छन् ।

उनले आफूसँग केही अनुभवी खेलाडी पनि रहेको र तयारी राम्रो हुँदा देशलाई सकारात्मक नतिजा दिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

उनले यसै छनोटका लागि सिनियर टोलीसँग मैत्रीपूर्ण खेल खेलेको र त्यस खेलका क्रममा सुखद संकेत देखिएको बताए ।

आफ्नै प्रशिक्षणमा सिनियर टोलीलाई ताजिकिस्तानमा खेलिसकेकाले त्यहाँको वातावरणबारे आपूmसँग अनुभव पनि रहेको उनी बताउँछन् ।

प्रशिक्षण अवधिमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई टोलीमा समावेश गरिएको उनले स्पष्ट पारे ।

कुनै एक खेलाडीले छनोट सही तरिकाले नभएको भन्ने आरोपबारे प्रशिक्षक न्यौपानेले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारे ।

उनले आरोप लगाउने खेलाडीमा पनि क्षमता रहेको तर छनोटमा उत्कृष्ट दिन खेलाडीलाई टोलीमा समावेश गरिएको उल्लेख गरेका छन् ।

आयोजकसहित सिरिया र फिलिपिन्स रहेको यस समूहको शीर्ष स्थानमा रहँदै नेपाली टोलीले छनोट हुने लक्ष्य राखेको छ ।

कप्तान आयुस घलानले पनि सन्तुलित टोली बनेकाले छनोट हुने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन् । प्रशिक्षकको योजना र ट्याक्टिसअनुसार आफूहरूले खेल्ने उनी बताउँछन् ।

यस छनोटबाट १६ राष्ट्रले सन् २०२६ को जनवरी ७ देखि २५ सम्म साउदी अरेबियामा हुने एएफसी यु–२३ एसियन कपमा स्थान बनाउनेछन् ।

नेपालको समूहमा सबै बलिया राष्ट्र हुन् । फिफा वरीयतामा धेरै माथिका राष्ट्र रहेको समूहमा नेपालले छनोट हुने लक्ष्य राखेको छ ।

एएफसी यू–२३ एसियन कप छनोट खेल्ने नेपाली टोलीमा गोलकिपर कृशल मोक्तान, अमित टमाटा, विशाल केसी, डिफेण्डर विवेक गुरुङ, बिशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सेमान्ता थापा छन् ।

त्यस्तै मिडपिल्डर अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दिपेश गुरुङ, कृतीश रत्न चुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ र फरवार्ड रोहन खड्गी र निराजन धामी छन् ।

प्रकाशित मिति २०८२ भदौ १५ गते आइतबार ०९:१५
हजुरको प्रतिक्रिया