पोखरा ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले आफ्नो ३०औं वार्षिक साधारणसभा एक समारोहकाबीच सम्पन्न गरेको छ ।
साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा सहित समग्र गण्डकी प्रदेशमा पर्यटन क्षेत्रको समग्र विकासलाई लक्षित गरी पोखरा भ्रमण वर्ष घोषणा गरि विभिन्न कार्यक्रम अघि बढाइएको बताए ।
पोखरा पर्यटन राजधानी घोषणा भएसँगै यसले पर्यटन क्षेत्रको समग्र विकासका लागि विभिन्न लगानीहरू आकर्षित गरिरहेको उनले बताए ।
नाट्टा केन्द्रका अध्यक्ष एवं नेपाल पर्यटन बोर्डका सदस्य कुमारमणि थपलियाले समग्र पर्यटन क्षेत्रको उन्नयनका लागि नाट्टाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।
त्यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखरा देशको प्रमुख पर्यटकीय गन्तव्य भएको बताउँदै यहाँको शान्ति सुरक्षालाई प्रभावकारी बनाउने कुरामा प्रशासन निरन्तर लागिरहेको बताइन् ।
कार्यक्रममा बोल्दै नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दहालले पोखरा सहित समग्र दशेको पर्यटन प्रवद्र्धदन र विकासका लागि संस्थाका तर्फबाट निरन्तर साथ र सहयोग गरिदै आइएको बताए ।
सो अवसरमा नाट्टा गण्डकीले सञ्चालन गरेको मनोहरा सिग्देल स्मृति पर्यटन पत्रकारिता पुरस्कारबाट होलिडे एडभेन्चर टुर्स एण्ड ट्राभल्सका म्यानेजर चिरञ्जिीवि काफ्लेलाई सम्मानित गरिएको थियो ।
नाट्टा गण्डकी प्रदेशका पूर्व अध्यक्ष सञ्जयकान्त सिग्देलले आफ्नी माता मनोहराको स्मृतिमा स्थापित एक लाख ११ हजार रुपैयाँको अक्षयकोषबाट वर्षेनी नाट्टा गण्डकीका सदस्य कम्पनी मध्ये सबैभन्दा पुराना एक जना कर्मचारीलाई नगद १० हजार रुपैयाँ, सम्मापत्र र दोसल्लाबाट सम्मान गरिँदै आइएको छ ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दहालको सभापत्विमा भएको साधारणसभामा महासचिवको प्रतिवेदन चेतन कार्कीले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुवास पहारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नाट्टा मधेश प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछाने, नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र थापा, नाट्टा सूदुुरपश्चिम प्रदेशका महासचिव शिवहरि पाण्डेलगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
प्रकाशित मिति २०८२ भदौ १६ गते सोमबार १०:०८




