काठमाडौं ।
नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन आज थप तीन प्रतिवेदन पेश हुँदैछन् ।
महाधिवेशनमा निर्वाचन आयोग, लेखा र अनुशासनको आयोगका प्रतिवेदन पेश हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
आज स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत समेत पेश हुँदैछ ।
उक्त प्रस्तावमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतादेखि उमेरहद र नेतृत्वको दुई कार्यकाल हटाउनुपर्ने उल्लेख गरेका छन् ।
त्यस्तैआज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
महाधिवेशनको समसामियक प्रस्ताव लेखनको संयोजकको जिम्मेवारी योगेश भट्टराईलाई दिइएको छ ।
प्रतिवेदन पेश गर्न सबैलाई २० मिनेट समय छुट्याइएको छ ।
हिजो पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले संगठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
ती प्रतिवेदनमाथि आज नै समूहगत छलफल शुरु हुनेछ । सात घण्टाभित्र समूहगत छलफल पनि टुंग्याएर निष्कर्षमा पुग्ने कार्यतालिका रहेको गौतमले बताए ।
ललितपुरको गोदावरीमा हिजोदेखि शुरू भएको विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी कूल दुई हजार तीन सय ४१ जनाको सहभागिता रहेको छ ।
प्रकाशित मिति २०८२ भदौ २१ गते शनिबार ०८:५२




