पाेखरा ।
नेकपा (माओवादी केन्द्र) ले पोखराबाट मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पुनः सुरु गरेको छ ।
शनिबार दिउँसो ३ बजे रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित सहिद पार्कमा सहिद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गर्दै अभियान पुनः आरम्भ गरिएको हो ।
सहिद खनाललाई २०५८ सालमा तत्कालीन राज्य पक्षले हत्या गरेको थियो भने उनका जेठो छोरा प्रदीप खनाल २०६० सालमा बेपत्ता भएका थिए । उनकी छोरी सर्मिला खनाल र छोरा सुदीप खनाल माओवादी केन्द्रमा सक्रिय छन्।
साउन १६ र १७ गते बसेको स्थायी समिति बैठकको निर्णयअनुसार बाँकी जिल्लामा भदौ २१ गतेदेखि अभियान सुरु गर्ने निर्णय भएको थियो ।
अध्यक्ष प्रचण्डले सहिदको त्याग र तपस्याकै परिणामस्वरूप गणतन्त्र र संविधान प्राप्त भएको बताए। उनले ’जनयुद्ध’लाई महान् क्रान्ति भन्दै जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्न सफल भएको बताए ।
सत्य निरूपण तथा मेलमिलाप आयोगले न्यायका लागि काम गरिरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले पार्टी रूपान्तरणसँगै जनतासँगको सम्बन्ध सुदृढ गर्न हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानलाई अघि बढाइरहेको उल्लेख गरे।
जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको अभियान बर्खाको मौसमका कारण जेठ १० गते पोखरामा स्थगित भएको थियो।
प्रकाशित मिति २०८२ भदौ २२ गते आइतबार ११:३२




