२०८३ असोज २४ गते शनिबार

जेन–जी भन्छन्– अब हामी विदेश जान नपरोस्

जेन–जी भन्छन्– अब हामी विदेश जान नपरोस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २८ गते शनिबार ०२:५४

मुलुकको आवश्यकताअनुसार प्रधानमन्त्री कार्कीप्रति भरोसा गरेर एकताबद्ध भई अगाडि बढ्नुपर्ने उनीहरूको धारणा छ

काठमाडौं ।

जेन–जी पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक धारणा देखिएको छ। जेन–जी पुस्ताको आन्दोलनपछि सरकार ढलेसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार कार्कीलाई संविधानको धारा ६१ ९४० अनुसार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन्। मुलुकको वर्तमान परिस्थितिको निकासका लागि कार्की उत्तम विकल्प भएको नागरिकले धारणा राखेका छन्।
मुलुकको आवश्यकताअनुसार प्रधानमन्त्री कार्कीप्रति भरोसा गरेर एकताबद्ध भई अगाडि बढ्नुपर्ने उनीहरूको धारणा छ। एक दशकदेखि सत्तामा राज गरिरहेका शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई परास्त गर्नु नै विजय भएको युवा अमृत चापागाईंले बताए। उनले मुलुकलाई सही दिशामा अघि बढाउन युवा नेताहरू एकजुट हुनुपर्ने बताए। उनले कार्कीको नेतृत्व मुलुकका लागि आशाको आधार बन्नसक्ने विश्वास समेत व्यक्त गरे।
वरिष्ठ अधिवक्ता देवराज कटुवालले कानुनको ज्ञान भएको र देशलाई माया गर्ने व्यक्तिलाई नेतृत्व दिनु सकारात्मक रहेको धारणा व्यक्त गरे। उनले तत्कालका लागि मुलुकको संकट टरेको भए पनि भविष्यमा आउनसक्ने चुनौतीसँग जुध्नका लागि प्रधानमन्त्री कार्की तयार भएर बस्नुपर्ने उनको भनाइ छ।
अर्का युवा गणेश चौलागाईंले अस्तव्यस्त राजनीतिक परिस्थितिमा अनुभवी व्यक्तिले नेतृत्व लिनु मुलुकका लागि सकारात्मक संकेत संकेत भएको बताए। उनले युवाहरूको क्रान्तीको जगमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अगाडि बढ्नुपर्ने बताए। मध्यावधि निर्वाचनबाट आउने नेतृत्वले युवा पलायनको अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ।
नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरिसकेका छन्। साथै फागुन २१ गते बिहीवारका दिन नयाँ प्रतिनिधि सभा चुनावको मिति तोकिएको छ।

प्रकाशित मिति २०८२ भदौ २८ गते शनिबार ०२:५४
हजुरको प्रतिक्रिया