पोखरा ।
पोखरामा साहसिक खेल अन्तर्गतको हट एयर बेलुन उडान यही असोज ९ गते बिहिबार देखि पुनः सुचारु हुने भएको छ ।
वर्षायामका कारण केही समय स्थगित गरिएको यो सेवा पर्यटनको मुख्य सिजन सुरु भएसँगै फेरि सञ्चालनमा आउने भएको हो ।
बलुन नेपालका अध्यक्ष विक्रम बाडेका अनुसार स्वदेशी तथा विदेशी पर्यटकका लागि अग्रिम बुकिङ खुला भइसकेको छ। उडान बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुनेछ।
पामेबाट सुरु हुने बेलुन इन्द्रपुर ताल (लेक)सम्मको करिब ४ किलोमिटर दूरीमा आधा घण्टादेखि ४० मिनेटसम्म उड्नेछ।
करिब ९ हजार फिट उचाइमा पुग्ने बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमशृङ्खलाको मनोरम दृश्यसँगै फेवाताल, पोखरा बजार, पुम्दिकोटस्थित विशाल महादेव मूर्ति, विश्व शान्ति स्तूप, बुद्ध पार्क, सराङकोट र हरियाली वनजंगललाई ३६० डिग्री कोणबाट नजिकै अनुभव गर्न सकिनेछ।
नेपाली पर्यटकका लागि ११ हजार रुपैयाँ, सार्क मुलुक र चिनियाँ पर्यटकका लागि १२० अमेरिकी डलर तथा अन्य मुलुकका पर्यटकका लागि १५० अमेरिकी डलर शुल्क निर्धारण गरिएको कम्पनीले जनाएको छ।
प्याकेजमा पोखराको लेकसाइडबाट पिकअप–ड्रप, उडान, फोटो तथा भिडियो सेवासहित सुविधा उपलब्ध हुनेछ।
हाल कम्पनीसँग तीनवटा बेलुन र अनुभवी दुई जना विदेशी पाइलट रहेका छन्।
यसअघि नै पोखरामा भएको नेपालकै पहिलो अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सवले देशलाई विश्व पर्यटन नक्सामा फरक पहिचान दिलाएको थियो।
प्रकाशित मिति २०८२ असोज ८ गते बुधबार १२:२२




