पहिलो खेल आज राति सवा ८ बजे यूएईको शारजाह क्रिकेट मैदान हुने
पोखरा ।
नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुँदैछ ।
पहिलो खेल आज राति सवा ८ बजे शारजाहमा शुरू हुनेछ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय शृंखला खेल्न लागेको हो ।
वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता हो ।
नेपालले अहिलेसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउन सकेको छैन ।
पछिल्लो समय खराब प्रदर्शन गरिरहेको वेस्ट इन्डिजलाई हराउने नेपालसँग अवसर छ । । वेस्ट इन्डिजले पछिल्ला १० टी–२० मा २ वटा मात्र जितेको छ ।
नेपालले भने मिश्रित नतिजा निकालेको छ । नेपालले पछिल्ला १० टी–२० मा ५ वटा जितेको छ ।
यसैबीच नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिजविरुद्ध राम्रो खेल प्रदर्शन गर्ने बताएका छन् । शुक्रबार आयोजित प्रि म्याच कन्फेरेन्समा कुरा गर्दै रोहितले यस्तो बताएका हुन् ।
रोहितले पछिल्लो समय नेपालको खेल राम्रो हुँदै आएको बताउँदै यस शृंखलामा पनि राम्रो प्रदर्शन गरेर जित निकाल्ने बताएका हुन् ।
रोहितले यो नेपालको घरेलु शृंखला भएपनि घरेलु मैदानमा नखेलेको हुँदा केही फरक अनुभव हुने बताए ।
त्यस्तै वेस्ट इन्डिजका कप्तान अकिल होसेनले पनि नेपालको ऐतिहासिक शृंखलाको हिस्सा हुन पाउँदा खुसी लागेको बताउँदै खेलका लागि उत्साहित रहेको बताए ।
होसेनले टिममा युवा खेलाडीहरू धेरै भएको र सबैजना खेलका लागि तयार रहेको बताए ।
‘युनिटी कप’ टी–२० शृंख्ला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहनेछ ।
शृंखलाको दोस्रो खेल आउँदो सोमबार र तेस्रो खेल मंगलबार हुनेछ ।
शृंखलाको सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
प्रकाशित मिति २०८२ असोज ११ गते शनिबार ०९:२७




