२०८३ असोज २५ गते आइतबार

बडादशैँको छैटौँ दिन आज, कात्यायनी देवीको पूजा आराधना गरिँदै

बडादशैँको छैटौँ दिन आज, कात्यायनी देवीको पूजा आराधना गरिँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज १२ गते आइतबार ०७:३३

अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ । आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा कात्यायनी देवीको विधिपूर्वक पूजा गरिन्छ ।

पोखरा ।

नेपालीहरुको महान पर्व बडादशैँ अर्थात् नवरात्रको छैटौँ दिन आज नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ ।

नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गरिन लागिएको हो ।

अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ । आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा कात्यायनी देवीको विधिपूर्वक पूजा गरिन्छ ।

पुराणअनुसार कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् ।

महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन् ।

यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो। सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ ।

चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन् । यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ ।

नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूजा आराधना गरिन्छ ।

यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् ।  नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।

यो समयमा देवीभागवत महापुराण तथा दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।

प्रकाशित मिति २०८२ असोज १२ गते आइतबार ०७:३३
हजुरको प्रतिक्रिया